ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौँ, १९ असार । कोरोना भाइरसको संक्रमण समेत देखिएका एक जना बिरामी (पुरुष)को धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
उच्च रक्तचाप र पार्किन्सनबाट पिडीत ८५ बर्षीय पुरुषको गत बुधबार राती ११ बजे अस्पतालमा मृत्यु भएको हो । मृतक काठमाडौँ नयाँ बानेश्वर निवासी हुन् ।
स्वास्थ्य मन्त्रालयको शुक्रबारको कोभिड – १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको जानकारी दिएका थिए ।
‘छाती दुखेको र पिसाव कम भएपछि काठमाडौंकै एक निजी अस्पताल लगिएकोमा आइसोलेसनमा राखी उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भयो । उहाँमा कोरोना पोजेटिभ समेत थियो,’ डा गौतमले बताएका थिए ।
सो निजी भनिएको अस्पताल ह्याम्स रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
त्यसो त बिहीबार पनि सो अस्पतालमा उपचाररत केही विरामी र कर्मचारीमा संक्रमण देखा परेको बताइएको थियो । तर सबैको सुरक्षित ढंगले उपचार र आइसोलेट गरिएको अस्पतालले बताएको छ ।
यो संगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]