पाल्पामा एकैदिन थप १२१ जनामा कोरोना संक्रमण
पाल्पा, ११ असार । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल अस्पताल चितवनको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा पाल्पामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणमा पर्नेहरुमा ६ जना महिला ११५ जना पुरुष छन् ।
यो संक्रमितको संख्या पाल्पामा एकै दिन देखिएको सबैभन्दा बढी हो ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ८७ पुरुष सहित ९३ जनाको कोरोना संक्रमण देखिएको बताए । उनीहरु सबै निस्ती गाँउपालिकाको विभिन्न वडाको क्वारेन्टाइनमा बसेकाहरु हुन् ।
यस्तै भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पूर्वखोला गाँउपालिकाका १८ जना पुरुष, तिनहुँ गाँउपालिका १ जना पुरुष, रम्भा गाँउपालिकाका ६ जना पुरुष र तानसेन नगरपालिका ३ जना पुरुष गरी कुल २८ जनाको कोरोना पोजेटिभ आएको हो ।
यो संगै पाल्पामा कुल संक्रमितको संख्या ३६९ पुगेको छ । त्यसमध्ये १ जना अर्घाखाँची र एक जना गुल्मीका रहेका छन् ।
पाल्पाको सबै गाँउपालिकामा संक्रमित देखिएपनि सदरमुकामस्थित तानसेन नगरपालिकामा अहिलेसम्म संक्रमण देखिएको थिएन । बिहीबार ३ जना थपिएसंगै पाल्पाका सबै स्थानीय तहमा संक्रमण पुष्टि भएको छ ।
सम्पर्क इमेल : [email protected]