कोभिड-१९ रोकथामका लागि सरकारले जारी गरेको निर्देशिका र चाल्नुपर्ने कदम
कोरोना भाइरस (कोभिड – १९) ले विश्वव्यापी महामारीको रुपमा विश्वलाई नै आक्रान्त पारी रहेको अवस्थामा नेपाललाई पनि यसले बाँकी राखेन ।
आजको दिन सम्म विश्वमा ९० लाख ४४ हजार ५६३ जना व्यक्ति यसको संक्रमणमा परेका छन् । यसकै संक्रमणले ४ लाख ७० हजार ६६५ जनाले ज्यान गुमाईसकेका छन् ।
नेपालको कुरा गर्ने हो भने ९ हजार २६ जना अहिलेसम्म संक्रमणमा परेको अवस्था छ । २३ जनाले यसकै कारण ज्यान गुमाईसकेका छन् ।
कोभिड – १९ को संक्रमण रोक्न सरकारले गत ११ चैत देखि देशव्यापी रुपमा लकडाउन गर्यो । हालाकी अहिले यो खुकुलो अवस्थामा छ । यस्तै क्वारेन्टिन, आइसोलेसन कक्ष र होल्डिङ सेन्टर स्थापना गर्यो । यस्तै देश भरी नै कोभिड १९को निदानात्मक केन्द्रहरु खोल्यो ।
मुख्य मुख्य ठाँउमा कोरोना विशेष अस्पतालको धारणा पनि ल्यायो र सघन कक्षको व्यवस्थापन तथा विस्तार पनि गर्यो तर पनि कोरोना भाइरसले हामीलाई आक्रमण गरी छाड्यो ।
पछिल्लो समय संक्रमण बढ्दो क्रममा छ । मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढदो छ । यहि अवस्थामा सरकारले कोभिड – १९ रोकथामका लागि नयाँ नयाँ निर्देशिका जारी गरेको छ । हालाकी यसका विषयमा विभिन्न टिकाटिप्पणी पनि गरेको सुनिन्छ ।
सरकारले जारी गरेको नयाँ निर्देशिका
गत जेठ २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ ओटा निर्देशिका जारी गर्यो National Testing Guideline for COVID-19 र कोभिड -१९ को आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका ।
यो दुवै निर्देशिकाहरुको ध्येय बिरामीको समुचित समय प्रयोग र कोभिड – १९को पिसिआर जाँचको समुचित प्रयोग गरी जनताको छिटो छरितो सर्वसुलभ रुपमा सेवा पुगोस भन्ने देखिन्छ ।
विभिन्न शोधपत्रका आधारमा विश्व स्वास्थ्य संगठनले लक्षण नभएको अवस्थामा १० दिन र लक्षण भएमा कम्तिमा १० दिन र लक्षण मुक्त भएको ३ दिनपछि बिरामीलाई डिस्चार्ज गर्न सकिने बताएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि सोही कुरालाई मानेको छ । भारतले पनि आफ्नो संशोधित निर्देशिका पनि यही कुरा लागू गरेको छ ।
विभिन्न शोधपत्रहरुले ‘सार्स- कोभ-२’ ले संक्रमण भएको ५- १० दिनमा निउट्रलाइजिंग एन्टीबडी देखिने र त्यसपछि सर्ने सम्भावना न्यून रहने उल्लेख गरेको छ । सोही रणनीति नेपालले पनि अपनाएको छ । बरु डिस्चार्ज गर्ने थ्रेसहोल्ड ४ दिन बढाई १४ दिन बनाएको छ ।
यी दुवै निर्देशिका हेर्दा कोभिड-१९ का लागि पिसिआर पोजेटिभ भएको लक्षण नभएको वा कम लक्षण भएकाले विभिन्न शर्तमा रहने गरी घर मै क्वारेन्टिनमा बस्न सक्ने बनाएको देखिन्छ । अर्थात नयाँ निर्देशिकाले कोभिड- १९ का केशहरु पिसिआरबाट प्रमाणित भएकालाई अर्को टेस्ट गर्न नपर्ने र १४ दिन पछि डिस्चार्ज गर्न मिल्ने भनेको छ ।
अन्तर्राष्ट्रिय तहमा पनि यो प्राक्टिस हुँदै आएको छ । यो अनुभव नेपालले पनि अपनाएको हो । त्यसैले नयाँ निर्देशिकाको बारेमा विभिन्न चर्चा परिचर्चा चले पनि नेपालको लागि बान्छनीय नै देखिन्छ । तर यो निर्देशिका लागू गर्दै गर्दा थप केही कदम चाल्नुपर्ने देखिएको छ ।
सरकारले चाल्नु पर्ने कदम
१. हाल भै रहेको कोभिड-१९ का प्रयोगशालाहरुलाई छिटो छरितो रिपोर्ट दिनको लागि व्यवस्थापन र विस्तार गर्ने
२. होम क्वारेन्टिन मा रहन आकर्षण गर्ने
३. डेडीकेटेड कोभिड-१९ अस्पताल विस्तार तथा व्यवस्थापन गर्ने
४. सघन कक्षको बिस्तार गर्ने
५. गैर सरकारी स्वास्थ्य संस्थालाई पनि तिनको क्षमतालाई ध्यान मा राखी कोभिड-१९ को व्यवस्थापनमा संलग्न गराउने
६. गैर सरकारी संस्थालाई सहयोगी हातहरुको रुपमा ७ ओटै प्रदेश पहिचान गरी प्रदेश अन्तर्गत सहयोग गर्न समन्वय गर्ने
७. मेडिकल कलेजहरुलाई लेवल-३ सेवाको रुपमा पहिचान गर्ने
८. मनोसामाजिक परामर्शकोको लागि मनोविज्ञहरुको परिचालन गर्ने
९. कम्तिमा पनि जिल्लामा रहने गरी जनस्वास्थ्य विषयमा कम्तिमा पनि स्नातक गरेको व्यक्तिलाई स्वयंसेवक को रुपमा परिचालन गर्ने
१०. DCCMC को मातहतमा रहने गरी जिल्लामा प्रशासन, स्वास्थ्य, जनस्वास्थ्य, सुरक्षा र जिल्ला समन्वयको उपस्थिति रहने गरी डाटा संकलन तथा विश्लेषण गर्ने टिम स्थापना गर्ने
११. जिल्ला समन्वय समितिर जिल्ला प्रशासनको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, राजनितिक नेताहरु, विभिन्न पक्षका सरोकारहरुलाई कोभिड-१९ व्यवस्थापन तथा प्रतिकार्यको लागि अभिमुखिकरण कार्यक्रम राख्ने
१२. DCCMC को नेतृत्वमा जिल्ला कोभिड-१९ प्रतिकार्य योजना बनाउने र स्थानीय सरकारले सोही अनुरुप प्रतिकार्य योजना बनाइ कार्यन्वयन गर्ने
१३. जिल्ला समन्वय समितिले कोभिड-१९ व्यवस्थापनमा जिल्लाका स्थानीय सरकारसंग समन्वयमा प्रभाकारी भूमिका निभाउने
१४. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच समन्वयको तादन्मयता प्रभावकारी गराउने
उपसंहार :
माथिका बुँदामा उल्लेखित कार्यहरु तथा निर्देशिकालाई प्रभावकारी रुपमा अगाडी बढाउन सके पक्कै पनि कोभिड-१९ बाट उन्मुक्ति पाइन्छ ।
# एमडीजीपी डा. पच्या गुल्मी अस्पतालका मेडिकल सुपरीटेन्डेन हुन् ।
सम्पर्क इमेल : [email protected]