कोरोना विरुद्धको अभियान स्वास्थ्य सामग्री खरीदको जिम्मा फेरी स्वास्थ्यलाई
काठमाडौँ, ६ असार । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को शुक्रबार सम्पन्न बैठकले मेडिकल सामग्री खरीदको जिम्मेवारी पुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय गरको छ ।
संक्रमणको दर बढ्दो अवस्थामा रहेका बेला स्वास्थ्य सामग्री आपूर्तिको समग्र योजना स्वास्थ्यले तयार गरेको र त्यसलाई अघि बढाउने निर्णय भएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले बताए ।
स्वास्थ्यले शुरुमा खरीद गरेको स्वास्थ्य सामग्री विवादमा परेपछि उच्चस्तरीय समितिले खरीदको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर आफूले गरेको खरीद समेत विवादमा परेपछि सेनाले खरीद प्रक्रियामा अव सहभागी नहुने बताएको थियो । त्यस लगत्तै खरीदको काम पुन स्वास्थ्यले पाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सुरक्षा सामग्री, परीक्षण किट तथा मेसिनहरुको खरीद गर्नुपर्ने भएको र त्यसको जिम्मेवारी स्वास्थ्यलाई दिइएको बताए । उनले अहिले कम्तिमा २ प्रतिशत नेपालीको कोरोना परीक्षण गर्ने योजना अघि बढेको भन्दै त्यहि अनुसार आवश्यक खरीद योजना बनाएर मन्त्रालय अघि बढेको जानकारी दिए ।
पछिल्लो समय स्वास्थ्यले परीक्षणको दर बढाएसंगै नेपालमा कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढेको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यको दायित्व थप बढेको छ ।
सम्पर्क इमेल : [email protected]