कोरोनाको जोखिम मोलेरै प्रसूति सेवा
स्वर्गद्वारी, ३१ जेठ । विश्वभरि फैलिइरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेर प्यूठानका स्वास्थ्यकर्मीले प्रसूति सेवा दिइरहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लामो समयसम्म भएको लकडाउनका कारण भारतबाट भित्रिएका नागरिकलाई अहिले क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमै बसेका बेला नौबहिनी गाउँपालिका वडा नं ७ मा एक महिलाले बच्चा जन्माइन् ।
यही जेठ १७ गते श्रीमान्सँगै भारतबाट फर्किएर स्थानीय विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माएकी हुन् । भारतबाट आई स्थानीय क्वारेन्टिनमा बसेका मानिसमा कोरोना सङ्क्रमण देखिइरहेका बेला सुत्केरी सरस्वतीको कोरोनासम्बन्धी कुनै परीक्षण नगरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए।
“कोरोना परीक्षण नगरिएको अवस्थामा पनि स्वास्थ्यकर्मीले जोखिम मोलेर आफ्नो कर्तव्य निभाइरहनुभएको छ”, डा सुवेदीले भने । प्रसूति बेथाले च्यापेपछि उनलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र फोप्लीमा कार्यरत अनमी कृष्णा बुढाले क्वारेन्टिनमा नै सुत्केरी गराएकी हुन् । उनीले नर्मल डेलिभरि भएकाले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको बताए ।
कोरोनाको जोखिम भए पनि स्वास्थ्यकर्मी भएपछि आफ्नो कर्तव्य सम्झेर जोखिम मोलेरै भए पनि पिपिई लगाएर सुरक्षित महसुुस गरी सुत्केरी गराएको उनले बताए । सुत्केरी सरस्वतीको आज पिसिआर जाँच गरी प्रसूति स्याहारका लागि उचित परामर्श दिइ घर पठाइनेछ ।
बुढाले जस्तै अन्य स्वास्थ्यकर्मीले पनि गर्भवती महिला, नवजात शिशुलाई दिइने सेवा प्रभावित नहोस् भनेर निरन्तररुपमा सेवा दिइराखेको डा सुवेदीको भनाइ छ । अहिलेको जटिल अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राखी सेवा प्रवाहमा सहयोग गर्न सुवेदीले सबैलाई आग्रहसमेत गरे । रासस
सम्पर्क इमेल : [email protected]