बाराका ५ बर्षीय बालक सहित मृत्यु भएका दुई जनामा कोरोना पुष्टी
काठमाडौँ, ३१ जेठ । गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो ।
यो संगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन डा मदनकुमार उपाध्यायका अनुसार बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै गत बुधबार ( २८ जेठ) मा वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।
‘५ बर्षको बच्चालाई हिजो विहान रिफर गरेर वीरगञ्ज हेल्थकियरमा ल्याइएको रहेछ । निमोनियाको लक्षण थियो । शुरुमा आरडीटी परीक्षण गरियो पोजेटिभ देखियो । त्यसपछि पीसीआरका लागि स्वाव झिकियो । तर बच्चाको हिजो नै निधन भयो । रिपोर्ट आज आयो तर पोजेटिभ आयो । यस्तै गत २८ जेठमा वीरगञ्जको घण्टाघर क्षेत्रमा अन्दाजी २५ बर्षीय पुरुषको सव भेटियो । वेवारिसे शवको पोष्टमार्टम गर्नुपर्छ, पोष्टमार्टम गर्नु अघि पीसीआर परीक्षण गर्नुपर्ने भयो । आज त्यसको पनि रिपोर्ट आयो र पोजेटिभ आयो,’ उनले भने ।
उनले बच्चाको परिवार र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई कन्ट्याक्ट टेसिङ गर्ने काम शुरु गर्न लागिएको बताए । पर्सामा आज मात्रै थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्पर्क इमेल : [email protected]