बाजुरामा मृत्यु भएकी दुई बर्षीया बालिकामा कोरोना संक्रमण
काठमाडौँ, १८ जेठ । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट बाजुरामा दुई बर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा कोरोना संक्रमित बालिकाको शनिबार विहान मृत्यु भएको हो ।
बूढीगंगा नगरपालिका–१ स्थायी ठेगाना भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । सुदूरपश्चिम प्रदेशका प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बच्चा र तिनका आमाबाबु चार दिन अघि जिल्ला अस्पतालको आइसोलेसन पुगको बताए ।
‘बच्चामा कडा निमोनिया र कोभिड – १९को लक्षण देखिएको थियो । हामीले आमा बाबु र ति शिशुको स्वाब झिकेर परीक्षणका लागि पठाएका थियौँ । आज साढे १२ बजे मात्रै रिपोर्ट आयो । बच्चामा भाइरस संक्रमण देखियो,’ डा. अवस्थीले भने ।
डा. अवस्थीले मृत्यु भएकी बालिकाको आमालाई समेत कोरोना संक्रमण देखिएको बताए । तर संगै आएका बाबुको रिपोर्ट भने नेगेटिभ रहेको बताए ।
आठ दिन अघि नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।
शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो। यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
सुदूरपश्चिममा थप ५ जनामा कोरोना पोजेटिभ
यसैबीच आइतबार सुदूरपश्चिममा थप ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । ‘मृतक बालिका र तिनकी आमा सहित दुई जना बाजुरामा देखियो । अरु ३ जना कैलालीका हुन् ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीले भने । उनले नयाँ संक्रमितसंगै प्रदेशमा कुल संक्रमितको संख्या २७ पुगेको बताए ।
सम्पर्क इमेल : [email protected]