कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशु धुलिखेल अस्पतालको आइसोलेसनमा
काठमाडौं, ४ जेठ । कोरोना भाइरस (कोभिड-१९)बाट आमाको मृत्यु भएपछि ११ दिन अघि जन्मिएको नवजात शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।
शिशुसंगै उनका बुबा र हजुरआमालाई पनि अस्पतालको आइसोलेसनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नागेन्द्र झाले मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि गत २४ बैशाखमा जन्मिएको उनको नवजात शिशु (छोरा), उनको श्रीमान र सासुलाई धुलिखेल अस्पतालकै आइसोलेसनमा राखिएको बताए ।
उनले अहिले तिनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइसकिएको समेत जानकारी दिए । ‘रिपोर्ट अहिले आइसकेको छैन,’ डा झाले भने ।
बाह्रबिसे -९ राम्चे, सिन्धुपाल्चोक स्थायी घर भएकी २९ बर्षीया गत २४ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा साधारण रुपमा सुत्केरी भएकी थिइन । अस्पतालले २५ बैशाखमा डिस्चार्ज दिएपछि एम्बुलेन्समार्फत राम्चे पुर्याइएको थियो ।
तर गत १ जेठमा स्वास्थ्यमा समस्या भएपछि उनलाई शुरुमा बाह्रबिसे र त्यसपछि धुलिखेल अस्पताल ल्याइएको थियो । तर अस्पताल पुर्याउँदा पुर्याउँदै उनको मृत्यु भएको थियो ।
लक्षण मिलेको पाएपछि धुलिखेल अस्पतालले आरडीटी र पीसीआर परीक्षण ग र्यो । सो क्रममा दुबै रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुन टेकुस्थित जनस्वाथ्य प्रयोगशालामा पनि परीक्षणका लागि पठाइयो र त्यहाँ पनि रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमण भएको पुष्टि भएपछि मृतकको शबलाई सुरक्षाकर्मीको विशेष टोलीले पशुपति आर्याघाट ल्याएर शनिबार राती दाह संस्कार गरेको थियो ।
अहिले उनको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिएको छ भने सुत्केरीको घर तथा माइती गाँउलाई समेत सिल गरिएको छ ।
सम्पर्क इमेल : [email protected]