कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने ? मुख्यमन्त्री पोखरेलसंग एनडीएएन लुम्बिनीले गर्यो छलफल
बुटवल १ जेठ । राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन) लुम्बिनी शाखाले कोरोना महामारीको व्यवस्थापन तथा नियन्त्रण गर्ने गुरुयोजनाबारे प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलसंग छलफल गरेको छ । पछिल्लो समय प्रदेश नं ५ मा कोरोना भाइरसको संक्रमण तिब्रगतिमा बढेको छ ।
मुख्य मन्त्रीसंगको छलफलमा शाखाका निवर्तमान अध्यक्ष डा. सन्तोष पोखरेल, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली सहभागी थिए ।
छलफलमा चिकित्सकहरुले मुख्यमन्त्रीलाई कोभिड – १९ को बढ्दो संक्रमणको नियन्त्रणका लागि भारतीय सिमामा क्वारेन्टाइन राख्नुपर्ने आइसोलेसन कक्षको व्यापक सुधार गर्नुपर्ने, सेवारत स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले संघ प्रदेश र स्थानीय सरकारले यो बेला एक आपसमा समन्वय गर्ने र नीतिगत व्यवस्था गरेर नियन्त्रणको प्रयासमा अघि बढन सुझाव दिएको सहभागी टोलीका एक जना सदस्य डा सम्राट पराजुलीले बताए ।
शाखाका महासचिव सागर न्यौपानेले आफूहरुको केन्द्रीय कमिटी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टीम स्वास्थ्य क्षेत्र सुधारका लागि छलफल गरी अघि बढीरहेको भन्दै लुम्बिनी शाखाले पनि सोही अनुरुप सहकार्य गरी अघि स्वास्थ्य क्षेत्र सुधारका लागि योगदान दिन चाहेको बताए ।
सो अवसरमा मुख्यमन्त्री पोखरलले चिकित्सकको सल्लाह सुझावले महामारी रोक्न र प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण हुने बताए । उनले सिमा क्षेत्रमा क्वारेन्टाइन राख्न, आइसोलेसनको सुधार गर्न तथा परीक्षणलाई व्यापक गर्न प्रदेश सरकारका लागि परेको बताए ।
देशभर कोरोना संक्रमितको संख्या २४९ हुँदा प्रदेश नं ५ मा ९४ जनामा संक्रमण देखिएको छ ।
सम्पर्क इमेल : [email protected]