चिकित्सक नर्स सहित ३८ जना क्वारेन्टाइनमा, पीसीआर परीक्षणका लागि नमूना संकलन हुँदै
काठमाडौँ, १ जेठ । अस्पतालमा भर्ना भएकी ६ बर्षीया बालिकालाई कारोना भाइरस (कोभिड १९) संक्रमण भएको पाइएपछि त्रिवि शिक्षण अस्पतालले उनको उपचारमा खटिएका चिकित्सक, नर्स सहित अन्य सम्पर्कमा रहेका ३८ जनालाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालले उनीहरुको आजै थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणका लागि पठाउने तयारी गरेको छ ।
नाक कान घाँटी सम्वन्धी समस्या भएकी बालिकालाई गत मंगलबार अभिभावकले उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याएका थिए । अस्पतालले उनलाई न्युरो सर्जरी वार्डमा राखेर उपचार शुरु गरेको थियो । जोखिमयुक्त जिल्लाबाट आएको व्यक्ति भएकोले हिजो नै थ्रोट स्वाव झिकेर परीक्षणका लागि पठाउँदा आज विहानै रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस लगत्तै अस्पतालको आकस्मिक बैठकले उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा अरु सहयोगीहरुलाई क्वारेन्टाइनमा राख्ने र थप परीक्षण गर्ने निर्णय गरेको हो ।
‘अहिले केही रेजिडेन्ट चिकित्सक, नर्स तथा ल्यावमा काम गर्ने समेत गरी ३८ जना जो बालिकासंग प्रत्यक्ष सम्पर्कमा पुगेका छन् । उनीहरुको परीक्षण गर्ने कुरा भएको छ । नतिजा नआउँदासम्म उनीहरुलाई क्वारैन्टाइनमै राखिनेछ,’ डा शान्तकुमार दासले भने ।
अस्पतालले अहिले बालिकालाई र वार्डमा भएका अन्य ५ बिरामीलाई छुट छुट्टै आइसोलेसनमा र बालिकाको आफन्तलाई समेत क्वारेन्टाइनमा राखेर उपचार र परीक्षण अघि बढाएको छ । न्युरो वार्डलाई डिस इन्फेक्सन गर्ने तयारी भएको छ ।
पहिलो चरणमा ३८ जनाको स्वाब झिकेर परीक्षण गर्ने र त्यसपछि रिपोर्टको आधारमा दोस्रो चरणमा कन्ट्याक टेसिङमा जाने अस्पतालको योजना छ ।
सम्पर्क इमेल : [email protected]