१४ वर्षीय किशोरमा कोरोना : जनकपुरको पीसीआरमा नेगेटिभ काठमाडौँ पोजेटिभ
काठमाडौँ, ११ बैशाख । जनकपुरको प्रयोगशालामा पीसीआर रिपोर्ट नेगेटिभ आएको १४ बर्षीय किशोरको काठमाडौँमा गरिएको परीक्षणमा पोजेटिभ आएको खुलेको छ ।
सर्लाही धनकौलका ती किशोर तीन साता अघि भारतको दिल्लीबाट घर आएका थिए । आउनासाथ उनलाई स्थानीयले क्वारेन्टिनमा राखेका थिए ।
सर्लाही स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार क्वारेन्टिनमा १४ दिन काटेपछि आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ आएपछि पाँच दिन अघि पीसीआर गर्न उनको नमूना जनकपुरको प्रयोगशालामा पठाइएको थियो । त्यहाँको प्रयोगशालाले नेगेटिभ देखाएको सिंहले बताए ।
तर आज काठमाडौंको राष्टिय जनस्वास्थ्य प्रयोगशालामा उनको रिपोर्ट पोजेटिभ देखियो । उनलाई नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि पठाउने तयारी भइरहेको सिंहले जानकारी दिए ।
नेपालका कुल ४७ संक्रमित मध्ये उनी सबैभन्दा कान्छा हुन् ।
सनसिटी अपार्टमेन्टका आमा छोराको कोरोना संक्रमण ९ दिनमै नेगेटिभ
यता पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना आमा छोरामा देखिएको कोरोना भाइरस संक्रमण नौ दिनमा नेगेटिभ आएपछि आज पाटन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएका उनीहरुको गत २ बैशाखमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । बेलायतबाट फर्केका ८१ बर्षीया आमा र ५८ बर्षीय छोरामा संक्रमण देखिएको थियो ।
८१ बर्षीया आमा नेपालमा कोरोना संक्रमणमा परेको सबैभन्दा जेष्ठ नागरिक हुन् । यस्तै कोरोना संक्रमण देखिएको सबैभन्दा छोटो समयमा निको हुने सबैभन्दा पाको उमेरको व्यक्तिपनि उनी नै ठहरिएकी छन् ।
सम्पर्क इमेल : [email protected]