भारतले सिटामोल निर्यातमा लगाएको प्रतिवन्ध फुकुवा गर्यो
काठमाडौँ, ६ बैशाख । भारतले सिटामोल निर्यातमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । गत ३ मार्च देखि लगाएको प्रतिवन्ध शुक्रबारदेखि फुकुवा गरेको हो ।
भारतको यो निर्णयपछि अब सिटामोलजन्य सुई, झोल र ट्यावलेटका औषधि नेपालमा आउने आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए ।
कोरोना भाइरसको संक्रमण शुरु भएयता भारतले २६ प्रकारका औषधिमा प्रतिवन्ध लगाएको थियो । त्यसमा सिटामोल पनि परेको थियो । केही समय अघि अरु औषधिमा फुकुवा गरेपनि सिटामोल निर्यातमा लागेको रोक यथावत थियो ।
भारतको उद्योग बाणिज्य मन्त्रालय अन्तरगर्तको बाणिज्य विभागले शुक्रबार जारी सूचनामा सिटामोलजन्य तयारी औषधिको निर्यात खुल्ला गरेको बताएको छ । तर त्यसको कच्चा पदार्थको निर्यातमा लगाएको प्रतिवन्ध भने यथावत रहेको उल्लेख गरेको छ ।
महासचिव आचार्यले आयातमा लगाएको प्रतिवन्ध पछि नेपाल आउँदै गरेका ठूलो मात्रामा औषधि सीमामा रोकिएको भन्दै यो निर्णयपछि सबै तयारी औषधिहरु आउन बाटो खुलेको बताए ।
उनले नेपाल भारतको सीमा नजिक भारतीय भूमीमा सिटामोल बोकेका ६ ट्रक औषधि रोकिएको बताए ।
सम्पर्क इमेल : [email protected]