कोरोना संक्रमणमा परेका बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना गरियो

एजेन्सी । कोरोना भाइरसको संक्रमणमा परेका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार साँझ लन्डन अस्पताल भर्ना गरिएको हो ।

दश दिन अघि परीक्षणका क्रममा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको थियो । त्यसपछि उनी निवासमै क्वारेन्टाइनमा रहेका थिए ।

तर १० दिनपछि पनि उनको लक्षण र तापक्रममा परिवर्तन नभएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको सुझावपछि यो कदम ‘सावधानीको रुपमा’ चालिएको बताइएको छ।

संक्रमणमा परेपनि  सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

चिकित्सकको सुझाव

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गका अनुसार प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको छ।

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।’

‘कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।’

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए। उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए। त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे।

उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए।

काम जारी
शुक्रवार ट्वीटरमा एउटा भिडिओ पोष्ट गर्दै उनले आफूमा अझै पनि सामान्य लक्षणमात्रै देखिएको बताएका थिए। ‘मेरो तापक्रम अझै पनि उस्तै छ। त्यसैले सरकारको सल्लाह अनुसार मैले अझै यो लक्षण नजाँदासम्म आफैँ एक्लिएर बस्ने कामलाई जारी राख्नुपर्छ,’ उनले भने।

‘तर भाइरसलाई पराजित गर्नका लागि हामी स्पष्ट रुपमा पूरै समय काम गरिरहेका छौं।’

शनिवार उनकी प्रेमिका क्यारी सिमोन्ड्जले मुख्य लक्षणहरू सहित आफूले एक साता ओच्छ्यानमै बिताएको भनेर ट्वीट गरेकी थिइन्।उनले आफूमा भाइरसको परिक्षण नभएको पनि बताएकी छन्।

ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

महारानी एलिजावेथले कोरोनाभाइरसको महामारीविरुद्धको लडाइ यूकेले जित्ने बताएको केहीबेर पछि प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएको समाचार आएको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *