कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुरु गर्दै न्युरो सर्जरी सेवा
जुम्ला, १७फागुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा शुरु हुने भएको छ । न्यूरो सर्जन डा. निलम खड्का प्रतिष्ठान आएसंगै न्युरो सर्जरी सेवा शुरु हुने भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एसोसिएट प्रोफेसर खड्का यसअघि राष्ट्रिय ट्रमा सेन्टरमा आवद्ध थिए ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार हुने क्रम जारी छ । एकदमै महत्वपूर्ण मानिने न्युरो सर्जरीसेवा समेत अब हामी शुरु गर्ने भएका छौँ,’ अस्पताल निर्देशक डा मंगल रावलले बताए ।
उनले कर्णालीमा १६ स्लाईस सीसीको सिटिस्क्यान मेसिन गत वर्ष नै ल्याइएको, न्युरो सर्जरीमा चाहिने अन्य उपकरण र औजारहरु पनि ल्याइसकेको भन्दै अव धमाधम सेवा सञ्चालन हुने बताए । उनले यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नशामा चोटपटक लाग्ने धेरै बिरामी आउने भएतापनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।
करीव ३०० सय दरबन्दी रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ जना बढी चिकित्सक छन् । प्रतिष्ठानमा हाडजोर्नी तथा नसा रोग, जनरल सर्जरी प्रसूति तथा स्त्री रोग, मेडिसिन, मानसिक रोग, वालरोग, आँखा रोग मुख तथा दन्त सेवा, आइसीयू, एनआईसीयू, रेडियोलोजी तथा एनेस्थेसिया सेवा उपलव्ध छ ।
सम्पर्क इमेल : [email protected]