गैरचिकित्सकलाई स्वास्थ्य विभागको महानिर्देशक बनाएको भन्दै एनएमएको आपत्ति
काठमाडौँ, १२ फागुन । स्वास्थ्य सेवा विभागको नेतृत्वमा गैर चिकित्सक पुगेको भन्दै नेपाल चिकित्सक संघ (एनएमए)ले आपत्ति जनाएको छ । उसले विभागको महानिर्देशक गैर चिकित्सक बनाउने कार्य तत्काल सच्याउन माग गर्दै अन्यथा कडा कदम चाल्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गत ८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशक पदमा महेन्द्रप्रसाद श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए । श्रेष्ठले सोमबार (आज) विभागमा पुगेर पदवहाली गरेका छन् । उनले पदवहाली गरकै दिन चिकित्सक संघले आपत्ति जनाएको हो ।
संघका अध्यक्ष डा लोचन कार्कीद्धारा आज अपरान्ह जारी विज्ञप्तीमा विभागको नेतृत्व गैर चिकित्सकले गर्दा चिकित्सा ज्ञानको पूर्ण उपयोग गर्न नसक्ने र चिकित्सकको भावना अनुरुप काम हुन नसक्ने उल्लेख छ । अहिलेसम्मको इतिहासमा विभागको नेतृत्व चिकित्सकले गर्दै आएको भन्दै पछिल्लो कदमले चिकित्सकहरुको मनोवल गिर्ने ठोकुवा गरिएको छ ।
विभागको महानिर्देशक पद समूहकृत होइन : महानिर्देशक श्रेष्ठ
गैर चिकित्सक महानिर्देशक हुन नपाउने भन्ने चिकित्सक संघको माग प्रति नव नियुक्त महानिर्देशक श्रेष्ठले भने बुझाई फरक परेको हुनसक्ने बताए ।
‘चिकित्सक साथीहरुले के बुझ्नु परयो भने । स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औँ तहको पद हो । र १२ औँ तहको पद समूहकृत पद होइन । यो विशिष्ठ श्रेणीको पद हो । १२ औँ तहमा चिकित्सक मात्रै होइन, हामीजस्तो जनस्वास्थ्य समूह, नर्सिङ समूह, फार्मेसी समूह वा स्वास्थ्यको जुनसुकै समूहबाट पनि बढुवा हुनसक्छ । अनि महानिर्देशक बन्न सक्छ । र अहिले मेरो नियुक्ति सोही पदमा भएको हो । र त्यो निमित्तको रुपमा हो । काम काज गर्न हो,’ श्रेष्ठले भने ।
उनले निजामतिमा एघारौँ तहबाट नै समूहकृत हटाइएको तर स्वास्थ्यमा १२ औँ तहमा मात्रै समूहकृत हटेको बताए । ‘त्यसैले म मात्रै होइन विभागको महानिर्देशक पद नर्सिङ समूहको पनि बन्न मिल्छ,’ उनले भने ।
थर्मल स्क्यानर र इन्फाइरेड थर्मामिटर खरिद गर्ने पहिलो निर्णय
महानिर्देशक श्रेष्ठले जिम्मेवारी सम्हाले लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थडेस्कको आकस्मिक निरीक्षण गरेका छन् । सो क्रममा उनले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुसंग कार्यस्थितिबारे जानकारी लिएका छन् ।
सो क्रममा एउटा थर्मल स्क्यानर विग्रिएको र इन्फाइरेड थर्मामिटरको समेत अभाव भएको जानकारी पाएपछि द्रुत प्रक्रियाबाट यी सामग्री खरिद गर्ने निर्णय भएको सुनाए । ‘पहिलो निर्णय स्क्यानर र इन्फाइरेड थर्मामिटर किन्ने निर्णय भएको छ,’ उनले भने ।
त्यसअघि विभागमा भएको पदवहाली सहारोहमा निवर्तमान महानिर्देशक डा रोशन पोखरेलले श्रेष्ठको स्वागत गरेका थिए । सो क्रममा श्रेष्ठले सबैसंग हातेमालो गरी अघि बढ्ने बताएका थिए ।
सम्पर्क इमेल : [email protected]
डा. लोचन तपाई हरु जस्तो बुध्दीजिवी ले पनि प्रसान बुझन् छोडेको देख्दा अच्म लाग्यो. बिरोधको लागि बिरोध गर्नु ठीक होईन्.