कोरोना भाइरस : वुहानमा अस्पताल निर्देशककै मृत्यु
बेइजिङ, ६ फागुन । कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित एक अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक डा लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।
उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण वहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।
यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।
वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।
गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।रासस
सम्पर्क इमेल : [email protected]