फेसबुकबाट बाजुरा अस्पतालमा लाखौँ कमाई, होला कि अरु अस्पतालका लागि सिकाई ?
बाजुरा दुर्गम हो भन्छन् तर मलाई त यो ठाउँ ‘दूर’ लाग्छ, ‘गम’ लाग्दैन । किनकी पछिल्लो दुई बर्ष देखि म यहि छु । बाजुरालाई मैले बुझेको छु ।
निक साइमन्स इन्स्टिच्युट(एनएसआई) संस्थाले मलाई एमडीजीपी बिशेषज्ञ छात्रवृत्तिमा पढ्ने मौका दिएपछि देशमै सेवा गर्नुपर्छ भन्ने भावनाका साथ मैले बाजुरा जिल्ला आएको हुँ ।
दुई बर्षको बाजुरा बसाईमा मैले धेरै थोक देखें, भोगें, अनि केही कुरा राम्ररी बुझें पनि । त्यसरी बुझेको मध्ये एउटा कुरा के भने यहाँ चुनौति मात्रै होइन धेरै कुराको अवसर पनि छ । जसले केही गर्ने अठोट लिएको छ उसले गर्न सक्छ ।
हामीले सुुदूरको यो अस्पतालबाट यहाँका गरीब बासिन्दालाई सस्तो र गुणस्तरीय सेवा दिने सोच बनायौँ । र त्यस अन्तरगर्त कामहरु अघि सार्यौँ, त्यसको नतिजा अहिले देखिन थालेको छ ।
जिल्ला अस्पताल बाजुराले विगत केही महिना देखि फेसबुकलाई प्रविधिको रुपमा प्रयोग गरी लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यसैको प्रयोगबाट आम सर्वसाधारणले कम शुल्कमा उपचार सुविधा पाएका छन् । जो देशकै लागि नयाँ तरिका हो भन्ने हामीलाई लागेको छ ।
कसरी जोडियो फेसबुकलाई उपचार प्रविधिमा ?
चालु आर्थिक बर्षको साउन महिनामा यहाँको बडिमालिका नगरपालिकाले बाजुरा अस्पतालको लागि सीआर (कम्प्युटराइज्ड रेडियोग्राफी) मेसिन किनिदियो। यो मेसिनले एक्सरेको गुणस्तर त राम्रो बनायो नै, अनलाईन रिपोर्ट गर्ने पद्धती पनि सिकायो ।
हामीले अनलाइन रिपोर्टको लागि फेसबुकको म्यासेन्जर प्रयोग गर्दा पनि गुणस्तरीय एक्सरे फोटो आदानप्रदान हुने विधि पत्ता लगायौँ । यसले गर्दा विरामीले गरेको एक्सरे शुल्क समेत सस्तो हुन गयो ।
अहिले १५० देखि २०० रुपैयाँमा तिरेपछि बाजुरा अस्पतालमा डिजिटल एक्सरे खिचाउन सकिन्छ । यो अस्पतालमा यस्तो एक्सरे गर्ने दैनिक २० देखि २५ जनासम्म आउँछन् । यही अनुपातमा विरामीको आगमनले अस्पतालले महिनामा करीब १ लाख आम्दानी गर्छ । तर त्यसका लागि खर्च दुई हजार बढी लाग्दैन ।
एक्सरेको अनलाइन रिपोटिंङ गर्ने विधि बारे हामीले अध्ययन गर्ने क्रममा फेसबुकको माध्यम अपनाउँदा धेरै सजिलो हुने तथा एक्सरे रिपोर्ट समेत उच्च गुणस्तरीय हुन्छ भन्ने कुरा थाहा पाएका थियौँ । र प्रयोग गरयौँ । नतिजा यी तलका तस्विरहरुले बताएको छ ।
अनलाइन रिपोर्टिङको लागि हामीलाई कुनै नयाँ सफ्टवेर चाहिएन र कुनै नयाँ कम्प्युटर समेत खरिद गर्नु परेन । यसले पनि अस्पतालको सफ्टवेर र कम्युटरमा हुने धेरै ठूलो खर्च जोगिएको छ । सफ्टवेर निर्माणको लागि खर्च हुनसक्ने लाखौँ रुपैयाँ बचत भयो।
एक्सरेका कर्मचारीलाई पनि काम गर्न र अनलाइन एक्सरे रिपोर्ट पठाउन कुनै कठिनाइ भएन र थप तालिम दिनु परेन । साधारण कम्प्युटर चलाउन जान्ने र फेसबुक चलाउन जान्ने रेडियोग्राफर टेक्निसियनले विरामीको अनलाइन रिपोर्ट पठाउन सक्छ ।
अहिलेको समयमा सबैजसो चिकित्सकले स्मार्टफोन, ट्याव, ल्यापटप तथा डेक्स्टप कम्प्युटर चलाउने भएकोले हामीलाई थप सामग्रीहरु पनि किन्नुपरेन जसले गर्दा हाम्रा डाक्टरहरु जुनसुकै स्थान वा जिल्ला बाहिर वा देशै बाहिर गए पनि ईन्टरनेटको पहुँचमा भएमा एकसरे आफ्नो मोबाइलमा हेर्न सक्छ्न् । सक्ने र मिल्ने केसमा त टेलिमेडिसिन सेवा जस्तै डाक्टरले दुर देखि सल्लाह र उपचार पनि दिन मिल्छ।
हामीले यो विधि सञ्चालनमा ल्याउन इन्टरनेट (वाइफाई) र विजुलीको लागि मात्रै खर्च गरेपुग्छ । फेसबुक म्यासेन्जर चलाउन एक्सरे कोठा, बहिरंग कोठा, अप्रेसन र अन्तरंग विभागमा इन्टरनेट वाइफाई जडान गरयौँ ।
नेपाल टेलिकमलले १ हजार रुपैयाँमै राम्रो गतिको इन्टरनेट उपलव्ध गराएको छ । जसलाई विभाजन गरेर इन्टरनेट चलाउन पनि मिल्छ । यसले डाक्टरलाई आफ्नो व्यक्तिगत पैसा हालेर जिपिआरएस नेट डाटा प्याकेज किन्नु पनि परेन र निशुल्क इन्टरनेट सेवा पनि उपलव्ध भयो ।
हामीले विगत केही महिना देखि यो विधिबाट हजारौँ एक्सरे गरिसकेका छौँ । यसबाट हामीलाई एक्सरे प्रिन्ट गर्न चाहिने फिल्महरु किन्नु परेको छैन् । यसले अस्पतालका लागि हुने ठूलो व्ययभार जोगाईदिएको छ । एक्सरे विभागबाट ९९.९ प्रतिशत कुल मुनाफा जस्तै कमाउन सफल भएका छौँ । महिनाको एक लाख रुपैयाँ मात्रै शुल्क विरामीबाट उठेमा खर्च २ तीन हजार मात्रै हुन्छ । जसको आम्दानीबाट अस्पतालका अरु फाँटमा समेत सुधारका काममा रकम खर्च गर्न सक्छौँ । एक्सरे फाँटमा थप कर्मचारीलाई रोजगारी पनि दिन सफल भयौँ ।
यहि पद्धतीले गर्दा अहिले हामीलाई गरीब तथा विपन्न समुदायका लागि निशुल्क एक्सरे गर्न कुनै कठिनाई भएको छैन । हामीेले निशुल्क रुपमा उनीहरुलाई यो सेवा दिएका छौँ ।
यो पद्धतीको बारेमा अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत डा रोहितकुमार गिरिको धारणा यस्तो छ, ‘एक्सरे स्पष्ट आउने, जतिवेला पनि जहाँ नि आफ्नो मोवाइलमा हेर्न मिल्ने, एक्सरे स्टाफ थोरे भएपनि कामको लोड कम हुने भएकोले अत्यन्त लाभदायी छ ।’
अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. रुपचन्द्र बिश्वकर्मा भन्नुहुन्छ, “ फोटोको उच्च क्लियारिटी संगसंगै एक्सरे पहिला जस्तो घाममा सुकाउनु नपरे पछि धुलो मैलो नटासिने, जटिल बिरामीको बारेमा दुर बस्नु भएका सिनिएरसंग छलफल र सल्लाह लिन नि सजिलो र छिटो हुने, फोटो जुम गरेर हेर्न मिल्ने र गाँउका बिरामीको समस्या सहरका ठुला अस्पतालमा कन्सल्ट गरेर उपचार गर्न पाउँदा गाँउ गाँउमा चिकित्सक भन्ने नारालाई नि टेवा पुर्याएको छ।”
अस्पतालको रेडियोग्राफर बोलराज आचार्य भन्नुहुन्छ, यसअघि वाइफाई नचल्दा, कम्प्युटरमा भाइरस छिर्ला भन्ने डरले अर्को एक ल्यापटप मागेको बखत प्रशासनले उपलव्ध गराउन नसक्दा र बिरामीलाई बारबार खोई मेरो एक्सरे भन्ने प्रश्नको जवाफ दिनुपर्दा नरमाइलो लागे पनि अहिले यति सस्तोमा राम्रो र गुणस्तरीय सेवा दिन पाउँदा खुशि लागेकोछ।”
मलाई लाग्छ यो प्रबिधिबाट नयाँ पुस्ताका चिकित्सकलाई काम गर्न निकै सजिलो भएको छ । तर पुराना पुस्ताका चिकित्सकहरु जो फिल्म हेरेर काम गरिरहनु भएको छ ।उहाँहरुलाई बानी लगाउन केही समस्या हुने हो कि जस्तो लाग्छ ।
यो प्रबिधि हामीले हरेक सिआर भएका सामुदायिक तथा निजी, जिल्ला देखि अञ्चल अस्पतालहरु जहाँ २५ ३० जना डाक्टरहरु हुने अस्पताल छन, त्यहाँका अस्पतालमा सजिलैसंग संचालन गर्न सकिन्छ र एक्सरेका शुल्क कम गर्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]