के अण्डा अधिक खानाले मुटु सम्बन्धि रोग निम्त्याउँछ ? अध्ययनले भन्छ यस्तो

बीबीसी । अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ।

उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई नोक्सानी पुर्‍याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ।

अण्डाको पहेँलो भागमा धेरै मात्रामा कोलेस्ट्रोल हुने कारणले खतरा देखिएको हो। एउटा ठूलो अण्डामा करिब एक सय ८५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो।

खतरा
उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित विश्लेषण हो।

अनुसन्धानकर्ताहरूले प्रतिदिन तीन सय मिलिग्राम कोलेस्ट्रोल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्।

उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन्।

दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमश: २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्ति सेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो।

“हाम्रो अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो,” अध्ययनकी एक लेखिका तथा नर्थवेस्टर्न यूनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन्।

पहिलाका अध्ययनसँग विरोधाभाष

पुराना अध्ययनहरूले अण्डा खानु र मुटुरोगको सम्बन्ध नरहेको देखाएकोमा नयाँ अध्ययन विरोधाभाषपूर्ण देखिएको छ। तर एलेनका अनुसार पहिलाका अध्ययनहरूको नमूना सानो, समयावधि छोटो र विविधता कम रहेका थिए।

यद्यपि अनुसन्धानकर्ताहरूले आफ्नो विश्लेषणमा केही त्रुटिह हुनसक्ने बताएका छन्।

सहभागीले गएको महिना वा वर्षहरूमा अण्डा खाएकोबारे प्रश्नोत्तरमार्फत् जानकारी दिनुपर्ने भएकाले सो अध्ययनको निष्कर्ष अपूर्ण हुनसक्ने देखिएको छ।

अन्य विज्ञहरूले यो अध्ययनले अण्डाको खान्की र मुटुरोग बीचको सम्बन्ध देखाए पनि मुटुसम्बन्धी रोगको कारणकै रुपमा अण्डाको आहारलाई स्थापित गर्न नसकेको बताएका छन्।

“यो अध्ययनको बलियो पक्ष भनेको यसले अमेरिकी जनसङ्ख्याको जातीय विविधता र सामान्य अमेरिकीहरूले लिने आहारको प्रतिनिधित्व गरेको छ,” लण्डनको किङ्ग्स कलेजका पोषण तथा खानपिनसम्बन्धी प्राध्यापक टम स्याण्डर्सले भने।

“यसको सीमितता भनेको यो आहार लिने एउटै आकलन विधिमा मात्रै निर्भर छ।”

कति खाने त अण्डा ?

त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त? अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन्।

उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो।  “मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन,” उनले भनिन्। “म केवल मानिसहरूलाई ठिक्क मात्रामा खान भनिरहेको छु।”

टम स्याण्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन्।

वर्षभरि धेरै अण्डा खपत गर्ने विश्वका देशहरू (स्रोत: इन्टरन्याशनल एग कमिशन, २०१५)
देश‍                       प्रतिवर्ष प्रतिव्यक्ति खपत हुने अण्डा
मेक्सिको                     ३५२
मलेशिया                     ३४२
जापान                         ३२९
रुस                               २८५
अर्जेन्टिना                    २५६
चीन                              २५४.८
अमेरिका                     २५२
डेनमार्क                      २४५

“औसतमा अमेरिकीहरूले दैनिक खाने कोलेस्ट्रोल करिब छ सय मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने दुई सय २५ मिलिग्रामभन्दा धेरै बढी हो,” स्यान्डर्स भन्छन्।

अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरन्याशनल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। जसले प्रत्येक वर्ष प्रति व्यक्ति दुई सय ५२ खान्छन्। तर त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो।

तर प्रतिवर्ष प्रतिव्यक्ति तीन सय २८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।

“हप्तामा तीनदेखि चारवटा अण्डा खानु ठिकै हुन्छ,” ब्रिटिश विज्ञले थपे।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *