कान्तिका डाक्टरको विहे खर्च क्यान्सर पीडित बालबालिकाको उपचारलाई ‘डोनेशन’

काठमाडौँ, १० फागुन । कान्ति बाल अस्पतालमा बाल रोग विशेषज्ञ (एमडी) अध्ययनरत डा. श्रीधर खनालले आफ्नो विहे खर्च क्यान्सर पीडित बालबालिकाको उपचारमा खर्च गर्ने निर्णय गरेका छन् ।

उनले विहेका लागि अनुमानित खर्च ४ लाख रुपैयाँ क्यान्सर पीडित बालबालिकाको उपचारमा सक्रिय अस्तित्व फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।

पाल्पा कुसुमखोलाका स्थायी बासिन्दा डा खनालले बुटवलकी कमला ज्ञवालीसंग विहे गरेका हुन् । ज्ञवाली वीपीएच अध्ययनरत छात्रा हुन् ।

विवाह समारोहमा कुनै तामझाम देखिएन, दुलाहा र दुलहीको गलामा खर्चिलो गहना देखिएन र होटल वा पार्टी प्यालेसमा लाखौं रुपैयाँ खर्च गरेर पार्टी पनि गरिएन । दुलाहा डाक्टर खनाल भन्छन् – ‘स्वयम्बर गर्दा दुलहीलाई कुशको औंठी लगाइदिएँ । उनले पनि क्यान्सर पीडित बालबालिकाहरुको मर्म र पीडा बुझेका कारणले यो निर्णय लिन सहज भयो ।’

डा. खनालका अनुसार विहेमा दुलही पक्षबाट जन्तीलाई सादा टीका मात्र लगाइदिए, ढोगभेटमा कुनै सामान आदानप्रदान गरिएन । यस्तो विहे गराउन पाएकोमा घर र माइती दुबै पक्ष खुशी छन् ।

फाउन्डेशनले क्यान्सर पीडित बालबालिकाको उपचार र शिक्षा तथा लालनपालनमा रकम खर्च गर्दै आएको थाहा पाएपछि विहेमा दुलाहा (भेनाजु)को जुत्ता लुकाएर उठाएको २ हजार रकम पनि सालीहरुले सोही कोषलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।

फाउण्डेशनमा आवद्ध अन्य सदस्यहरुले पनि विहे, ब्रतबन्ध, चाडपर्व, बार्षिकोत्सव जस्ता उत्सवमा हुने खर्चलाई कटौती गरी फाउण्डेसन सहयोग गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *