स्वास्थ्यका सहसचिवले किन पाएनन् समायोजन पत्र ? कारण यस्तो छ

काठमाडौँ, ७ फागुन । एक साता अघि नै समायोजनको विवरण प्रकाशित गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा परेका स्वास्थ्य समूहका सहसचिवहरुलाई अझै पत्र उपलव्ध गराएको छैन । पत्र नपाउँदा समायोजनमा परेका कर्मचारीहरु पोष्टिङ हुनबाट रोकिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य र कृषि समूहका सहसचिवहरुको समायोजनमा केही गडबडी भएका कारण सच्याउनका लागि समय लागेको बताएको छ । सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले भने, ‘अरु समूहका सहसचिवहरुले पत्र पाउन थाल्नु भएको छ । तर स्वास्थ्य र कृषि समूहका सहसचिवको पत्रमा मैले सही गरिसकेको छैन । कर्मचारीले फारम भर्दा नै केही गडबडी गरेकाले केही मिलाउनुपर्ने देखियो । त्यसैले केही ढिला भएको हो । त्यो मिलाएपछि मात्रै उहाँहरुले पत्र पाउनुहुन्छ ।’

उनले सहसचिव लेभलका कतिपय चिकित्सकले भनुपर्ने पुरा विवरण नभरेको र अहिले उजुरी गर्न आउँदा समस्या भएको बताए । ‘सफ्टवेरले को बरिष्ठ को कनिष्ठ भनेर चिन्दैन । विवरण अनुसार नतिजा प्रकाशित गर्ने हो । स्वास्थ्यका कतिपय सहसचिवले विवरणमा हाल्न गल्ति गर्नुभएछ । अहिले उजुरी गर्न आउनु भएको छ । त्यसैले त्यसलाई सच्याउँदै छौँ । केही समय लाग्ला कि । यस्तै भएको छ कृषिमा पनि,’ उनले भने ।

यता स्वास्थयका कर्मचारीहरुले पत्र वितरण गर्न ढिलाई हुनुलाई शंकास्पद रुपमा हेरेको बताउन थालेका छन् ।

‘हामी साता आठ महिना देखि फाजिलमा छौँ । अब समायोजन भयो अब त जिम्मेवारी पाइन्छ होला भनेको त्यहि पनि पत्र दिन ढिलाई भई रहेको छ । त्यो पत्र पाएपछि मात्रै हाम्रो मन्त्रालयले पोष्टिङ गर्छ । आखिरी तयार भएको पत्र दिन किन ढिलाई भईरहेको छ,’ स्वास्थ्य मन्त्रालयका एक जना सहसचिवले प्रश्न गरे ।

सामान्यले गत २१ माघको मन्त्रिपरिषदको निर्णय भन्दै २९ माघमा अन्य समूहका संगै स्वास्थ्यका १५० जना सहसचिवको समायोजन विवरण प्रकाशित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *