न्याम्सको पदाधिकारी नियुक्ति किन अड्कियो ?
काठमाडौँ, ६ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति रिक्त भएको आज १९५ दिन भयो तर नियुक्तिको अन्योलता कायमै छ । नियुक्ति हुन अझै कति दिन लम्बिने हो एकीन गर्न सकिने अवस्था छैन ।
न्याम्सका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव संयोजक रहेको सर्च कमिटिले गत १ असोजमै उपकुलपतिका लागि सम्भावित ३ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सिफारिसको एक नम्बरमा प्राडा डीएन साह, दुई नम्बरमा प्राडा ढुण्डी पौडेल र तीन नम्बरमा प्राडा अजित रायमाझीको नाम छ । तर त्यो सिफारिसको २१ हप्तासम्म पनि कुलपतिबाट उपकुलपति नियुक्ति हुन सकेको छैन ।
उपकुलपति नियुक्तिमा किन ढिलाई ?
सत्ता साझेदार दुई दलबीच पदाधिकारीमा भागबण्डा नमिल्दा उपकुलपति नियुक्ति रोकिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको संघीय समाजवादी फोरमले मन्त्रालय अन्तरगर्तको न्याम्समा आफ्नो हक लाग्ने भन्दै मुख्य पदहरुमा आफ्नो दावी गरेको छ ।
यता सरकारकै नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै पद दिन चाहेको छैन् । उसले समानुपातिक रुपमा मुख्य पदहरुको बाँडफाँड हुनुपर्छ भन्दै आएको छ । कुलपति र सहकुलपतिबीचको बेमेलले उपकुलपति नियुक्तिमा ढिलाई भएको हो ।
के के मा भएको छ बेमेल ?
यतिवेला न्याम्स अन्तरगर्तका विभिन्न ७ वटा छ वटा पद रिक्त छ । उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन, वीर अस्पतालको निर्देशक र राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक । अबको केही समयमा न्याम्सको एक जना कार्यकारी सदस्य पनि रिक्त हुँदैछ ।
बालुवाटार स्रोतका अनुसार फोरमले उपकुलपति र बीर अस्पतालको निर्देशक सहित एक जना सदस्य आफ्नो हुनुपर्ने अडानमा छ । नेकपा भने उपकुलपति र वीर अस्पतालको डाइरेक्टर मध्ये एक पद आफ्नो हुनुपर्ने पक्षमा छ । फोरमले त्यो भागबण्डा नमानेपछि उपकुलपति नियुक्तिमा ढिलाई भएको हो ।
‘हामीले मुख्य मानिने उपकुलपति र वीर अस्पतलाको डाइरेक्टर मध्ये एउटा पद बाँढौँ भनेका हौँ । त्यसबेला उहाँहरुलाई कार्यकारी मानिने ती दुबै पद चाहिने भन्नु भयो । त्यसले डेढलक जस्तो भएको हो । अब भने उहाँहरु पनि गम्भीर हुनुभएको छ । छिटै केही निकास निस्कन्छ ‘ स्रोतले भन्यो ।
उपकुलपतिमा डीएन साह निर्विकल्प !?
फोरमले मुख्य पद मानिने उपकुलपति र वीरको निर्देशक आफै राखेर अरु पदमा भागवण्डा गर्न सकिने भनेपछि नेकपाले उपकुलपति र वीरको निर्देशक आफूलाई राखेर अरु सबै पद लैजान फोरम समक्ष प्रस्ताव पठाएको थियो ।
तर फोरमले त्यो प्रस्तावलाई ठाडै अस्विकार गरेको थियो । फोरमले कुनै हालतमा डीएन साहलाई उपकुलपति बनाएरै छाड्ने योजनामा देखिएको छ ।
उपकुलपतिमा डीएन साह बाहेक अरु हुनै सक्दैन भन्ने हरेक पटकको छलफलमा उहाँहरुले उठाउने गर्नु भएको छ । प्रधानमन्त्रीले त्यसो भए अरु पदहरुमा हामीले भनेको पनि मान्नुस भन्नु भएको हो । यसैमा अडकिएको हो । स्रोतले भन्यो ।
त्यसो त वाहिरबाट उपकुलपति ल्याए आफूहरुलाई मान्य नहुने भन्दै बीर अस्पतालका चिकित्सकहरुले आन्दोलनको धम्की दिईरहँदा नेकपाले दोस्रो नम्बरमा सिफारिस भएका ढुण्डी पौडेललाई समेत अघि सारेको थियो । तर फोरम त्यसमा सहमत भएको छैन ।
नियुक्ति खाने चर्चामा को को छन ?
फोरमले उपकुलपतिमा डीएन साहको नाम अघि सारेको छ, त्यस्तै डा प्रमोद यादव, डा सिताराम चौधरी समेत अघि सारेका नामहरु हुन् ।
यता नेकपा तर्फबाट नियुक्तिका लागि डा. केदार सेन्चुरी, डा यहुनचन्द्र सिवाकोटी, डा विधाननिधी शर्मा, डा पियुस दाहाल, डा सन्तोष पौडेल लगायतको चर्चा छ ।
यता प्रधानमन्त्री कार्यालयबाट डा दिलीप शर्मा र स्वास्थ्य मन्त्रालयको तर्फबाट डा भुपेन्द्रकुमार बस्नेतको नाम पनि नियुक्तिको लिष्टमा परेको छ । तर यी मध्ये क कसले नियुक्ति पाउने हुन र को को नयाँ थपिने हुन् त्यो भने एकीन भईसकेको छैन ।
सम्पर्क इमेल : [email protected]
Tyaso ho bhane e ma le ko kota ma pareko mantralaya bata pani bhagbanda garnu parchha ……e ma le le afai le paayeko matralaya bata sabai afai line ani aru ko bhag ma pareko bata pani bhag magnu bhayena……