‘डाक्टर-साब’हरु पनि हड्ताल गर्दा रहेछन् ! ?

गाँउ ठाँउमा
निको नहुने रोगबाट
थलिएपछि
हर्के दाई,
श्रीमतीलाई साथमा लिएर
आइपुगे
डाक्टरहरुको शहर काठमाडौंमा !
हिउँदमा जमिनै नदेखिने
विकट भूगोलबाट,
उसिनेको सिस्नासंग
ढिंडो खाने दुनियांबाट,
अक्सर सरकारबाट
टुहुरा भएका बस्तीबाट,
अनेक बन पहाड गुजार्दै
लेक बेसी गर्दै
आइपुगे हर्के दाई
जटिल रोगको उपचार खोज्न
डाक्टरहरुको शहर काठमाडौंमा !
यी दम्पती
प्रतिविम्व बनेर आइपुगे
त्यो कुनाकाप्चाबाट
जहां अखबार पनि बेखबर भइदिन्छ,
जहां अक्षरहरु पनि धुलोमा मेटिन्छ,
जहां रुखका बोक्राहरुमा दुखको चित्र भेटिन्छ,
अनि जहां बोक्सीका रंगहरुमा रोग देखिन्छ !
यो पहाडको कथा
यो सभ्यताको कथा
अनि रुवाउने कहानी,
सुनाउन
उनीहरु सारङ्गी बोकेर
काठमाडौं आएका होइन्न !
बिहान बेलुकी छाक टार्न
कोदो र तिते फापर उब्जाउने खेत
बेचेर
अलिकति पैसा र
रोग निको हुने धेरै आसा बोकेर
आइपुगेका हुन्
डाक्टरहरुको शहर काठमाडौंमा !
तर
जब उनीहरु
रोगको असह्य पीडालाई
बिस्तारै खप्दै खप्दै
पुगे टिचिङ अस्पतालको प्रांगणमा,
देखे एउटा नमिठो दृश्य
सुने एउटा नमिठो शब्द
जसले
सदियौं देखि तुषारापात उनीहरुको
जिन्दगी झन् कठांग्रिने बनायो !
मानवता नै अन्धो रहेछ,
सेतोकोटका सेवा संकल्पहरु नै धिक्कार रहेछन्,
साच्चै नै डाक्टर साबहरु पनि हड्ताल गर्दा रहेछन्,
आसुं सगैं
यो सन्देश बोकेर
रित्तो थैली र
भारी रोग लिएर
फर्किए फेरि
आफ्नै गाँउ ठाँउ !!
# घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानका जुनियर इन्टर्न हुन् ।
सम्पर्क इमेल : [email protected]