राष्ट्रिय सभा बैठक : चिकित्सा शिक्षा विधेयक पास गर्ने योजनामा सत्तापक्ष सांसद
काठमाडौँ, १७ माघ । प्रतिनिधिसभाबाट पारित भइसकेको चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभाबाट पनि हुवहु रुपमा पास हुने सम्भावना बढेको छ । आज दिउसो २ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षीय सांसदले विधेयक हुवहु ढंगले पास गर्ने तयारीमा छन् ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
यस सत्रमा विधेयकमा परेका संशोधनमाथि सांसदहरुले आफ्नो विचार राख्नेछन्। यसअघि सोमबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न ७२ घण्टाको समय दिएका थिए।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले विधेयकमाथि संशोधन राख्न समय दिएका थिए। तर, कांग्रेसले विधेयकमाथि संशोधन हालेको छैन।
यसअघि कांग्रेसले आफ्ना दुई नेताको नाममा खुलेका अस्पताल जीपी कोइराला श्वासप्रस्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर हस्पिटललाई सरकारले खारेज गर्न लागेको भन्दै विरोध गरेको थियो । तर सरकारले ती अस्पताल संघमातहतमा ल्याउने निर्णय गरिसकेको छ । कांग्रेसले डा गोविन्द केसीसंगको सम्झौँता अनुरुप विधेयक आउनुपर्ने माग यथावत रहेको जनाएको छ ।
सांसद रामनारायण विडारीले आजको बैठकले चिकित्सा शिक्षा विधेयक पास हुने बताए । उनले भने, ‘हाम्रो तयारी भएको छ । आज चिकित्सा शिक्षा विधेयक पास हुन्छ ।’ उनले सहमतिमा नभए बहुमतिय प्रक्रियाबाट पास हुने बताए ।
सम्पर्क इमेल : [email protected]