सिरहामा क्यान्सर अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन

 

लहान, १४ माघ । सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ ।

सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ ।

क्यान्सर अस्पताल सम्भाव्यता अध्ययन टोलीले क्यान्सर अस्पतालको लागि २० देखि २५ बिगाहा जग्गा, ठूलो जनसङ्ख्या हुनुपर्ने, यातायातको सुविधा र बस्ने सुविधालगायत हुनुपर्ने भन्दै त्यस्तो ठाउँको चयन गर्नुपर्ने जनाएको थियो ।

समितिले करीब रु १० अर्बको लगानीमा अस्पताल भवन निर्माण हुने खाका तयार गरी त्यसका लागि जग्गाको छनोट, पूर्वाधारको व्यवस्थापन, आवतजावतका लागि प्रशस्त मार्ग, जनघनत्व, स्वास्थ्यकर्मीको बसोवासलगायतका विषयमा अध्ययन गरिरहेको संयोजक डा सिंहले जानकारी दिए ।

स्थलगत अध्ययन÷अवलोकन, अस्पतालका लागि वर्तमान ऐन–नियमको अध्ययन तथा सरोकारवालासँग छलफल गरी अस्पताल निर्माण गर्न उपयुक्त स्थानको सिफारिस गर्ने उनको कथन छ ।

प्रदेश नं ३ मा रहेको भरतपुर क्यान्सर अस्पतालमा रहेका करीब १५ हजार क्यान्सरका बिरामीमध्ये ४० देखि ५० प्रतिशत बिरामी प्रदेश नं २ का रहेको सिंहले बताए ।

बिरामीको चाप र सर्वसाधारणको सहजतालाई मध्यनजर गरी प्रदेश नं २ मा क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको संयोजक डा सिंहले बताए ।

अध्ययन कार्यदलद्वारा आयोजित छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी लगायतले प्रदेशको उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिकामा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालले आफ्नो शाखा विस्तार गर्ने कार्य अगाडि बढाइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *