जाडो याममा देखिने नोरोभाइरस अर्थात ‘विन्टर डायरिया’ के हो ? यसबाट कसरी जोगिने ?
जाडोयाममा अहिले पनि कहि कतै झाडा बान्ता देखियो भने अज्ञात रोग भन्ने गरिन्छ । कारण झाडाबान्ता भनेको गर्मीमा मात्रै देखिने रोग हो भन्ने बुझाई व्याप्त छ । तर त्यसो होइन जाडोमा पनि झाडा बान्ता हुने गर्छ र धेरैको ज्यान समेत लाने गरेको छ ।
हामी सुन्ने गर्छौँ जाडो महिनामा कतै जन्ती भोज खाँदा एकैपटक थुप्रा विरामी, कहिले पुजाको प्रसाद खाँदा एकैपटक गाँउले बिरामी वा यस्तै यस्तै तर झाडाबान्ता भएपनि धेरै ठाँउमा यस्ता खबर आउँदा अज्ञात रोग भनिने गरिएको छ । तर बास्तविकता त्यो होइन । जाडो महिनामा जति पनि झाडाबान्ताको प्रकोप हुन्छ त्यसको कारण ‘नोरोभाइरस’ हो । जसले ‘विन्टर डायरिया’ गराउँछ ।
नोरोभाईरस अर्थात वीन्टर डायरिया अर्थात जाडोमा लाग्ने झाडा बान्ता । यसको बारेमा नेपालमा प्रयोगशाला जाँच नहुने भएकोलेपनि नोरोभाईरसका बारेमा सर्वसाधारण देखि नीति निर्मातासम्म अन्योलता देखिएको छ ।
के हो नोरोभाइरस ?
नोरोभाइरस एक प्रकारको बान्ता गराउने भाईरस हो । खास गरी जाडो यो जाडो मौसममा देखिन्छ । यो सन् १९६८ को नोभेम्बेर मा पहिलो पल्ट अमेरिकाको नोरवक भन्ने ठाँउमा झाडा बान्ता भएको बिरामीमा कारण पत्ता लगाउने क्रममा यो भाईरस पत्ता लागेको थियो । यसै ठाँउको नामबाट नै भाईरसको नाम रहन गएको हो।
विश्वमा पाँच मध्ये एकजना झाडापखालाका बिरामी यहि भाईरसका कारणले हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाउँदछ।
यसको लक्षणहरु के के हुन् ?
१. बान्ता हुने
२. पखाला लाग्ने (पानी जस्तो)
३. पेट बाउडिने
४. कसै कसैलाई हल्का ज्वरो आउने, टाउको दुख्ने तथा जिउ दुख्ने हुन्छ
यी लक्षणहरु संक्रमण भएको एक देखि दुई दिन सम्ममा देखा पर्न सक्छ भने तीन दिनसम्म रहनसक्छ ।
सामान्यतया यो आफै ठिक हुने गर्दछ । तर बालबालिका बृद्धबृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुले समयमा उपचार नपाए कडा जलवियोजन हुने र मृत्यु समेत हुन् सक्दछ।
नोरोभाईरस कसरी फैलन्छ ?
यो उच्च सरुवा रोग हो । संक्रमित बिरामीले दैनिक अरबौ भाईरसहरु दिसा मार्फत बाहिर फ्याकिरहेको हुन्छ भने स्वस्थ मानिसलाई बिरामी हुनको लागि १८ वटा मात्र भए पुग्छ ।
लक्षणहरु देखा परेको समयमा भाइरसहरु संक्रमित व्यक्तिको शरीरबाट बाहिर निस्किरहेको हुन्छ । भने संक्रमित व्यक्ति पूर्ण स्वस्थ भैसकेपछि पनि २ हप्ता वा त्यो भन्दा बढी निरन्तर रुपमा भाईरस फैलाई रहेको हुन्छ।
यो संक्रमित व्यक्तिसंग नजिकको संसर्गबाट सर्ने (मानिसबाट मानिसमा छुदा सर्ने), संक्रमित खानेकुरा उपभोग गर्दा, संक्रमित समान, बस्तु वा सतह छुदा आदिबाट सजिलै सर्ने गर्दछ।
उपचार कसरी गर्ने ?
नोरोभाईरसको विशेष औषधि भने हुदैन। यसको लागि अरु झाडा पखालामा जस्तै प्रसस्त मात्रामा झोलिलो खाने कुराहरु लिनु पर्दछ। कडा जलवियोजन भएमा नजिकको स्वास्थ्य संस्थामा जानु पर्दछ। हालसम्म यसको खोपको विकास नभएकोले नोरोभाईरस लाग्नै नदिने अवस्थाको सिर्जना गर्नु नै सबैभन्दा राम्रो हुन्छ ।
नोरोभाइरसबाट कसरी जोगिने ?
१. खानेकुरा बनाउँनु अघि राम्ररी हात धुने
२. संक्रमित व्यक्ति लक्षण देखिन छाडेपनि कम्तिमा पनि २ दिन सम्म काम वा विद्यालयमा नजाने
३. सकेसम्म एकअर्काले एउटै कपडा वा सामानको प्रयोग नगर्ने
४. राम्ररी पकाएको खानेकुरा मात्र खाने
५. संक्रमित व्यक्तिको बान्ता वा त्यो व्यक्ति शौचालय गएपछि राम्ररी हात नधोई भुइँ, वा कुनै सतहमा छोएको भए त्यसलाई साबुन पानीले राम्ररी सफा गर्ने
नेपालमा नोरोभाईरसको अवस्था के छ ?
नेपालमा नोरोभाईरसबारे कमैलाई मात्र जानकारी भंएको देखिन्छ। प्रयोशालानिधन नहुनु र यस बारे मिडियामा पनि कमै चर्चा हुने भएकोले यो विन्टर डाईरियाको बारे धेरै अनभिज्ञ नै देखिन्छ।
यो पंक्तिकारले विद्यावारिधी (पीएचडी) गर्दा नेपालका खासरी बालबालिकाहरुमा झाडापखालाको कारणमा नोरोभाईरसको भूमिका हेरेको थियो जहाँ १२.५ प्रतिशत झाडापखालाका बालबालिकामा नोरोभाईरस कारक देखिएको थियो। यो सानो अनुसन्धानले नोरोभाईरस नेपालमा पनि व्यापक हुन सक्ने तिर संकेत गर्दछ। यद्धपी बालबालिकामा मात्र नभई बयस्कमा पनि जाडो महिनामा नोरोभाईरसको कारणले झाडा पखाला उत्तिकै हुने विभिन्न अनुसन्धानहरुले देखाई सकेको छ।
तसर्थ माथि उल्लेख गरे झैँ सामुहिक रुपमा भोजनहरु गर्दा हुने सामुहिक बन्ताको कारण अज्ञात रोग नभई नोरोभाईरस हुन सक्ने भएकोले नेपालमा पनि नोरोभाईरस बारे बिस्तृत अनुसन्धानको आवस्यकता देखिन्छ र छ पनि।
सम्पर्क इमेल : [email protected]