निको भएका बिरामीको परिवारद्धारा लाखौँ खर्चेर अस्पताललाई धन्यवाद !

काठमाडौँ, ८ पुस । अस्पतालमा लामो समयको उपचार पछि निको भएर बाहिरिँदा चिकित्सक र अस्पताललाई धन्यवाद भन्नु स्वभाविक नै हो ।

तर, एक विरामी परिवारले भने निको भएपछि लाखौँ खर्च गरी पत्रिकामा विज्ञापन नै छपाएर उपचार गरेको अस्पताल र मेडिकल टिमको प्रसंशा गरेका छन् । विरामीको स्थायी ठेगाना र चार पुस्ता खुलाएर प्रकाशित गरिएको सो विज्ञापनमा उपचार प्रति सन्तुष्ट रहेको उल्लेख छ ।

हो, ललितपुररको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा २ महिना ५ दिन उपचार गरी गत ५ पुसमा डिस्चार्ज भएकी भक्तिमाया लिम्बू र उनका श्रीमान तिलोक सिंह लिम्बूको नामबाट परिवारले  उक्त अस्पतालको प्रसंशा गर्दै विज्ञापन छपाएका हुन् ।

शनिबार अन्नपूर्ण पोष्ट दैनिकको पहिलो पृष्टमा करीब १०० सिसि र आइतबार नयाँ पत्रिका दैनिकको पहिलो पृष्ट र नागरिक दैनिकको दोस्रो पृष्टमा सोही विज्ञापन छापिएको छ । जानकारहरुका अनुसार उक्त तीनवटा पत्रिकामा सो परिमाणमा विज्ञापन छपाउँदा लगभग ७ लाख बढी खर्च लाग्छ ।

‘किनभने अन्नपूर्ण पोष्टको पहिलो पृष्टमा प्रति सिसि ४ हजार २०० रुपैँयाँ, नयाँ पत्रिकाको पनि सोही रेट र नागकि दैनिकको दोस्रो पृष्टमा प्रति सिसि २००० रुपैयाँ छ,’ विज्ञापन एजेन्सीका एक जना कर्मचारीले भने ।

अचम्म त के छ भने विरामी भएको व्यक्तिको परिचय यसरी दिइएको छ, ‘जिल्ला तेह्रथुम, आम्फूवा आम्दीन ५ स्थायी घर भै श्यामरुप लिम्बुका पनाती, पहलमान लिम्बुका नाती सनमान लिम्बुका सुपुत्र तिलक सिंह लिम्बुका श्रीमती भक्तिमाया लिम्बु हाल ललितपुर १४ तान्छिखेल निवासी बर्ष ८० ।’

यस्तै विज्ञापनमा दुई महिनाको उपचार पछि चिनी रोग पूर्ण रुपमा निर्मुल पारिदिएको उल्लेख छ । जवकी चिनी रोग नियन्त्रण गर्न सकिन्छ निर्मूल नै हुन्छ भनेर ग्यारेन्टी गर्न सकिदैन ।

नेपाल मेडिसिटी अस्पतालका व्यवस्थापक बिजय रिमाल विज्ञापनको बारेमा आफूलाई पनि पूर्व जानकारी नभएको बताए । उनले भने, ‘मैले पनि आज पत्रिका हेरेर थाह पाएँ । सरप्राइज नै भए । उहाँहरुले हामी प्रति यति धेरै माया गर्नु भएको रहेछ ।’

कतिपयले भने ‘यति धेरै पैसा खर्च गरेर अस्पतालको कोही किन विज्ञापन गर्दो हो । यो त अस्पतालकै चलाखी पो हो कि ?’ भनेर आशंका समेत गरेका छन् । तर व्यवस्थापक रिमाल भने सो कुरालाई ठाडै इन्कार गर्छन्, ‘हामीले यसरी किन विज्ञापन गर्ने ?’ उनले छोटो जवाफ दिए ।

निजी अस्पतालमा उपचारमा असुन्तुष्ट बन्दै तोडफोडमा समेत उत्रिने क्रम बढी रहेका बेला अस्पतालको प्रसंशा गर्दै लाखौँ खर्चमा विज्ञापन छाप्नुलाई आम सर्वसाधारणले भने आश्चर्यको रुपमा हेरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *