क्यान्सरलाई जितेकाहरु ‘र्याम्प-शो’को तयारीमा
ललितपुर ५ पुस । पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टको हलमा यतिवेला ५ पुरुष र २२ महिला ‘र्याम्प – शो’मा हिड्ने तरिका सिकिरहेका छन् । उनीहरुलाई मोडल डली गुरुङले प्रशिक्षण दिइरहेकी छन् ।
प्रशिक्षणमा सहभागीलाई हेर्दा उनीहरु व्यावसायिक मोडल होइन भनेर थाह पाउन सकिन्छ । उनीहरु व्यावसायिक सो को तयारी गर्दै छैनन भन्ने पनि पत्ता लगाउन गाह्रो पर्दैन तर उनीहरु क्यान्सर जितेर फर्केका व्यक्ति हुन भनेर थाह पाउन भने मुस्किल पर्छ ।
हो, उनीहरु क्यान्सर रोगलाई जितेका व्यक्ति हुन् । अनि उनीहरुलाई कोरियोग्राफी गर्ने गुरुङ पनि क्यान्सर रोग जितेकी सफल व्यावसायी तथा मोडल हुन् ।
आगामी २७ पुसमा सानेपास्थित हेडिटेज गार्डेनमा हुने ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प – शो’ को तयारीमा जुटेका छन् । नेपालमै पहिलो पटक हुन लागेको यो शोले क्यान्सरसंग संर्घष गर्दै रहेकाहरुलाई आत्मविश्वास जगाउन सहयोग पुरयाउने आयोजकको दावी छ ।
हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा हुन लागेको सन्देशमूलक ‘’र्याम्प – शो’’मा क्यान्सरलाई जितेर दोस्रो जीवन पाएकाहरु उत्रिदैछन् ।
‘मानिस सडक दुर्घटनादेखि विभिन्न रोग लागेर अकालमै मरिराखेका छन् । झाडापखाला, निमोनिया, जण्डीस, हेपाटाइटिस, एचआइभी एड्स, उच्च रक्तचाप, हृदयाघात, डायबिटिज र मिर्गौला खराबका कारण पनि मरिराखेका छन् । तैपनि सबैले क्यान्सरमात्रै ठूलो रोग हो, यो रोग लागेपछि मानिस बाँच्दैन, उपचारका लागि घरबार नै सिद्धिन्छ भन्ने खालको भ्रम समाजमा व्याप्त छ । यस्तो भ्रम र गलत धारणा अन्त्य गर्न सो को आयोजना गर्न लागिएको हो,’ नेपाल क्यान्सर सर्भाइभर ग्रुपकी सदस्य तथा कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ बताउँछिन ।
‘क्यान्सर लाग्दैमा जीवन समाप्त हुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्य हो । धेरैले यो रोग निको भइसकेपछि पनि लुकाएर बसेका हुन्छन् । जसरी चिनीरोग, उच्च रक्तचाप, ग्याष्ट्रिक, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वा निको भयो भन्नलाई हिच्किचाउनु पर्दैन भन्न खोजिएको हो,’ श्रेष्ठले थप प्रष्ट पारिन ।
‘र्याम्प – शो’ का सहआयोजक रहेको उक्त रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठ समयमै रोग पत्ता लागेर उपचार भएमा सबै प्रकारका क्यान्सर निको हुने बताउँछन् । उनले क्यान्सरको उपचारमा अब विदेश जानु पर्ने अवस्था समेत नरहेको दावी गर्छन ।
सम्पर्क इमेल : [email protected]