‘एक घर एक प्राथमिक उपचारक’ जनशक्ति तयार हुँदै
काठमाडौँ, २२ मंसिर । एक सयमध्ये नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार तथा एक हजार आकस्मिक उपचार आवश्यक पर्नेमध्ये पाँचजनालाई सिपिआर अति आवश्यक पर्छ ।
घाउ, चोटपटक, झाडापखालालगायत साधारण उपचार विधिलाई प्राथमिक उपचार तथा मुटु र श्वासप्रश्वास प्रक्रिया चलाउन सिकाइने विधिलाई सिपिआर भनिन्छ । सिपिआर तालीम लिएकाले अस्पताल पुग्नुअघि अकालमा हुने ७० प्रतिशतसम्मको मृत्युलाई घटाएको एक अध्ययनले देखाएको छ ।
‘नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टर’ले आज यहाँ सार्वजानिक गरेको अध्ययनमा विशेषगरी विद्यालय तहका छात्रछात्रा तथा समुदायमा प्रदान गरिएका प्राथमिक उपचार तथा सिपिआर तालीमले अकालमा हुने मृत्युलाई कम गर्न सहयोग पु¥याएको देखाएको छ ।
सेन्टरले हाल काठमाडौँ, ललितपुर, भक्तपुर, सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर र गोरखा जिल्लामा ‘एक घर एक प्राथमिक उपचारक’ तालीम सञ्चालन गर्दै आएको छ ।
विनाशकारी भूकम्पका समयमा सेन्टरले प्रदान गरेका तालीम प्राप्त जनशक्तिले गरेका मानवीय सेवाका आधारमा भएको सो अध्ययनले प्राथमिक उपचार र सिपिआर तालीमको महत्वलाई थप उजागर समेत गरेको छ ।
सेन्टरका कार्यकारी निर्देशक एवं त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन सस्थानका प्राडा रमेशकुमार महर्जनका अनुसार विपद्का अवस्था अर्थात आकस्मिक समयको पहिलो उपचार नै प्राथमिक उपचार हो, यसले अकालमा हुने मृत्युलाई ७० प्रतिशतसम्म घटाउन सकिने आफ्नो अध्ययनबाट निस्केको जानकारी दिए ।
आकस्मिक चिकित्सा विधाका प्राध्यापक समेत रहनुभएका सेन्टरका कार्यकारी निर्देशक डा महर्जन भन्छन्, “प्राथमिक उपचार र सिपिआर तालीम हरेक नागरिकलाई लिनु आवश्यक छ ।”
सेन्टरले आफ्ना कार्यक्रम लागू भएका ती जिल्लामा प्राथमिक उपचारका साधारण र विशिष्ट दुवै खालका तालीम सञ्चालन गरिरहेको छ । हालसम्म पाँचहजार जनशक्तिले प्राथमिक उपचार र सिपिआरका तालीम लिइसकेका छन् ।
ती जनशक्तिले हाल साधारण चोटपटक, महिलाको समस्या, गर्भवती सेवा, नवजात शिशुसेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिराखेका छन् ।
यसैबीच, ती कार्यक्रम कार्यान्वयन भएका जिल्लाका प्राथमिक उपचारक सम्मेलन आजदेखि यहाँ शुरुभयो ।
दुई दिने सम्मेलनमा सहभागीले आ–आफ्ना अनुभव र अगामी दिनमा आइपर्ने आकस्मिक उपचार सेवालाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्ने विचार विमर्श गर्नेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव दिपेन्द्ररमण सिंह, प्रा डा हुमबहादुर बरुवाल तथा सेन्टरका कार्यकारी निर्देशक डा महर्जजनले सम्मेलनको शुभारम्भ गर्दै विभिन्न विपद्को उच्च जोखिम रहेको हाम्रोजस्तो समाजका प्राथमिक उपचारको जानकारी सबैमा हुनु आवश्यक रहेकोमा जोड दिए । रासस
सम्पर्क इमेल : [email protected]