जोमसोम अस्पतालमा फार्मेसी सञ्चालन

हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम जिल्ला अस्पतालको औषधी बिक्री कक्षको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन । तस्वीर : निरज थकाली

मुस्ताङ, १८ मंसिर । सदरमुकाम जोमसोमस्थित जिल्ला अस्पतालले फार्मेसी (औषधि बिक्रीकक्ष) सञ्चालनमा ल्याएको छ । सरकारी अस्पतालमा औषधि बिक्रीकक्ष नहुँदा बिरामी निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए ।

उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । “अब चौबिसै घण्टा औषधि बिक्रीकक्ष खुल्ला रहनेछ,” उनले भने। सो बिक्रीकक्षको सोमबार गण्डकी प्रदेशका सदस्य चन्द्रमोहन गौचनले उद्घाटन गरे ।

यसअघि मनाङ र मुस्ताङ जिल्ला अस्पतालमा औषधि बिक्रीकक्ष थिएन । मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने गरेको थियो ।

सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि तोकिएको मूल्यमै बिक्री गरिने जिल्ला अस्पतालका सिनियर अहेव कर्ण थकालीले बताए। औषधि बिक्रीकक्ष सञ्चालन गर्न गत वर्ष भवन निर्माण गरिएको हो ।

यस वर्ष औषधि खरिद गर्न रु चार लाख ९० हजार बजेट उपलब्ध भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *