‘न्युट्रासिटिकल्स प्रडक्ट’ चिकित्सकले ‘प्रेस्काइब’ गर्न मिल्छ ?


‘न्युट्रासिटिकल्स प्रडक्ट’ भनेको मिनरल्स, डायटरी सप्लीमेन्टस तथा अन्य खनिज तत्वहरु समिश्रण गरेर बनाइएको हुन्छ । कुनै पनि व्यक्तिलाई शारीरिक रुपमा तन्दुरुस्त बनाउन खानाको माध्यमबाट गएको पौष्टिक आहारले नपुगेको खण्डमा दिइने पदार्थ हो ।

जस्तै : बच्चा जन्मिसकेपछि आमाको दुध आएन वा पुगेन भने ल्याक्टोजिन खुवाउँछौँ । बच्चा बढ्दै जाँदा घरमै बनाउन सकिने पौष्टिक आहार भएन भने वा लिटो तयार गर्न सकेनौँ भने विकल्पको रुपमा बजारबाट सर्बोत्तम पिठो वा सेर्लेक्स जस्ता पदार्थहरुको प्रयोग गछौँ । यी पनि ‘न्युट्रासिटिकल्स प्रडक्ट’मा पर्दछ ।

अर्थात यस्ता पदार्थ जो दैनिक हामीले खाने पदार्थबाट शरीरका लागि परिपूर्ति हुन्छ तर कहिलेकाँही केही केही पदार्थहरु नपुग्न सक्छ । ती अभाव पूर्ति गर्नकालागि बाहिरी सोर्सबाट दिनु पर्ने हुन्छ । त्यो दिनको लागि बनाइने तत्वहरुलाई हामीले ‘न्युट्रासिटिकल्स प्रडक्ट’ भन्दछौँ । त्यसमा शरीरका लागि आवश्यक खनिज तत्वहरु मात्रा मिलाएर राखिन्छ ।

‘न्युट्रासिटिकल्स प्रडक्ट’ र चिकित्सकको ‘प्रेस्काइव’
‘न्युट्रासिटिकल्स प्रडक्ट’ फिजिसियनले शरीरमा भएको कमजोरी पत्ता लागेपछि यसलाई प्रयोग गर्न सकिन्छ भनेर सुझाव दिन सक्छ तर प्रेस्काइव गर्न वा लेख्न जरुरी हुँदैन । विकसित राष्ट्रहरुमा फिजिसियनहरुले ‘न्युट्रासिटिकल्स प्रडक्ट’ कहिले पनि लेख्दैन । यो त पोषणविज्ञ वा डायटिसियनहरुले लेख्ने हो ।

तर नेपालमा डाक्टरहरुले आफ्नो पूर्जामा औषधिसंगै यी प्रडक्टको पनि सिफारिस गरेको पाइन्छ । औषधि र परीक्षणका कुरा बाहेक अन्य पदार्थहरु प्रेस्काइब गर्न मिल्ने हो कि होइन । त्यो त नेपाल मेडिकल काउन्सिलले बुझ्ने कुरा हो । मेरो बिचारमा डाक्टरहरुले डाइटरी सप्लीमेन्ट प्रयोग गर्न सकिन्छ भनेर सुझाव दिन मिल्छ होला तर लेखेरै दिन मिल्दैन जस्तो लाग्छ । किनभने यो औषधि होइन ।

आज भन्दा सात आठ बर्ष अघि नेपालमा न्युट्रासिटिकल्स ट्यावलेट फर्ममा देखिएको थियो । त्यसबेला एकदम कम मात्रामा थियो । त्यसभन्दा अघि प्रोटिनहरु डब्बामा राखेर विक्रि वितरण हुन्थ्यो । जस्तो ग्लुकोज, प्रोटिन, सर्बोत्तम पिठो औषधि पसल र डिपार्टमेन्ट पसलहरुमा राखि विक्रि वितरण गरेको पाइन्थ्यो । तर अहिले ठूलो मात्रामा डायटरि सप्लीमेन्ट्रीको रुपमा रहेको न्युट्रासिटिकल्स प्रडक्ट फार्मेसीहरुबाट विक्री भइरहेको छ । त्यो पनि डाक्टरको सिफारिसमा ।

गुणस्तर र जीएमपी अनि फार्मेसीमा राख्न पाउने कि नपाउने ?
औषधिहरुको गुणस्तर, उद्योगको पूर्वाधार औषधि व्यवस्था विभागले नियमन गर्छ । तर डायटरी सप्लीमेन्टको भनिने न्युट्रासिटिकल्स प्रडक्टको गुणस्तर कसले गर्ने भन्नेबारेमा अहिलेसम्म अन्योलता देखिन्छ ।

औषधि व्यवस्था विभागले औषधिको मात्रै नियमन गर्ने भयो । यी प्रडक्टको गर्ने भएन । खाद्यले डायटरि सप्लीमेन्टको भनेर हेरेपछि कर तिरेको छ कि छैन भनेर हेर्ने भयो । गुणस्तरको कुरामा त्यो पनि मौन बस्ने गरको अवस्था छ ।

अर्को कुरा एउटा फार्मेसी खोल्नका लागि निश्चित मापदण्ड पुरा गर्नुपर्छ । औषधि के के कसरी राख्न पाइने भन्ने ‘गाइडलाइन’ हुन्छ । विभागले त्यस सम्वन्धमा नियमन पनि गर्छ । तर फार्मेसी भित्रै राखिने न्युटासिटिकल्सको कसैले अनुगमन गर्दैन । बरु औषधि बाहेकका सामान राख्नै नपाइने फार्मेसी पसलमा यी बस्तुहरु निर्वाध रुपमा सजायर राखिन्छन् । जो अवैध हो ।

मेडिकल काउन्सिलले डाक्टरलाई अक्षर राम्रा बनाउ मात्रै भन्ने कि अक्षरमा के लेखेको छ भनेर पनि हेर्ने ?
खासमा यसको एउटा मुख्य सरोकारवाला निकाय मेडिकल काउन्सिल हो । मेडिकल काउन्सिलले डाक्टरले लेखेको पुर्जाको अनुगमन गर्नु पर्छ कि पर्दैन ।

डाक्टर भन्दैमा जे पायो तेही लेख्न मिल्छ ? मेडिकल काउन्सिलले डाक्टरको अक्षरमात्रै जाँच गर्ने कि डाक्टरले पूर्जामा के लेखेको छ हेर्ने ? औषधि व्यवस्था विभागले हामीलाई प्रमाणपत्र दिदा एलोपेथिक क, ख, ग भनेर दिने तर विक्रीवितरण गर्ने बेलामा न्युटासिटिकल्स, कस्मेटिक सामान, आयुर्वेद होमियोपेथि पनि त्यहीबाट विक्री हुने । त्यसो हो भने अब युनानी पनि त्यहिबाट बिक्री गरे भयो त ।

बिक्री गरौँ तर छुट्टै
‘न्युट्रासिटिकल्स प्रडक छान्ने अधिकार, प्रयोग गर्ने अधिकार सबैलाई छ । यसलाई निशेध गर्नुपर्छ भन्न खोजिएको पनि होइन । तर यसलाई चिकित्सकले प्रेस्काइब गर्न पाउने कि नपाउने भन्ने हो ।

एउटा औषधि लेख्ने र अर्को न्युट्रासिटिकल्स प्रडक्ट लेख्दा, औषधिले असर गर्छ भन्दै न्युट्रासिटिकल्स मात्रै लग्यो भने के हुन्छ ? त्यसैले यस सम्वन्धमा चिकित्सक, विभाग र मेडिकल काउन्सिल चनाखो हुनु जरुरी छ ।

यो औषधि प्रडक्ट नभएपछि यसलाई मेडिकलमा विक्री वितरण नगरौँ । यसका लागि छुट्टै सो रुम बनाऔँ । न्युट्रासिटिकल्स र कस्मेटिक आइटमका लागि मेडिकल उपयुक्त होइन ।

बजार नियन्त्रण गरौँ
केही बर्ष अघि देखि बजारमा देखिएको न्युट्रासिटिकल्स प्रडक्टले अहिले कुल औषधि विक्रीको झण्डै २५ प्रतिशत हिस्सा ओगटेकोछ । अबको दुई चार बर्षमा यसले ५० प्रतिशत हिस्सा ओगटने निश्चित छ । यसले केही व्यापारी, डाक्टरलाई त फाइदा हुने भयो तर आम सर्वसाधारणलाई निकै अपटेरो पार्ने निश्चित छ ।

नियमक निकायले के गर्ने ?
काउन्सिलले डाक्टरको पूर्जा अनुगमन गर्नुपर्छ । त्यसपछि विभागले एलोपेथिक भन्दा अरु केही राख्न पाउँदेनस भनेर निर्देशन जारी गर्नुपर्दछ । र न्युट्रासिटिकल्स र मेडिकेटेड कस्मेटिकको छुटटै एउटै स्टोर खोल्नुपर्छ र त्यसका लागि चाहिने म्यानपावर तयार गर्नुपर्छ ।

न्युटासिटिकल्सको व्यापार बन्द गरिनुपर्छ भन्ने पक्षमा छैन तर यसको नियमन गरिनुपर्छ भन्नेमा म छु । त्यसो हुने हो भने व्यवस्थित हुन्छ । युरोपका कतिपय देश, अमेरिका, जापान जस्ता विकशित मुलुकमा न्युटासिटिकल्सका लागि छुट्टै व्यवस्था गरिएको पनि छ ।

# फार्मासिस्ट लम्साल चावहिलस्थित हेल्पिङ हेन्ड्स फार्मेसीमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *