राष्ट्रपति भण्डारी दाँत उपचारका लागि पुगिन् वीर अस्पताल
काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्या देवी भण्डारीले वीर अस्पताल पुगेर आफ्नो दाँतको उपचार गराएकी छन् । आज विहान साढे ८ बजे अस्पताल पुगेकी उनले एक घण्टाको उपचार पछि करीब साढे ९ बजे फर्केकी थिइन ।
उनको उपचारमा प्रमुख कन्सलट्यान्ट डा. शैली प्रधानको नेतृत्वमा प्रमुख कन्सलट्यान्ट डा सरिता जोशी , बरिष्ठ कन्सलट्यान्ट डा बन्दना खनाल र बरिष्ठ कन्सलट्यान्ट डा आशा थापा सहभागी थिए ।
दाँतको दुखाईको समस्या हुने भन्दै गएकी राष्ट्रपतिको ओपीजी एक्सरे र सीबीसीटी (दाँतको सिटिस्क्यान) गरिएको थियो । टोलीले दाँतको सफाई (स्केलिङ) समेत गरेको थियो ।
‘आजको मुख्य परीक्षण तथा उपचार ओपीजी एक्सरे , सिविसिटी र स्केलिङ हो । अव पनि थप समस्या भयो भने केही समय पछि बायाँ तर्फको बुद्धि बंगरा निकाल्ने योजनामा समेत हामी छौँ ,’ टोली प्रमुख डा. प्रधानले बताइन ।
राष्ट्रपति भएदेखि भण्डारी दाँत परीक्षण तथा उपचारका लागि वीर अस्पताल नै पुग्ने गरेकी छन् । दाँत उपचारका लागि वीर पुगेको यो उनको चौथो पटक हो ।
सम्पर्क इमेल : [email protected]