भरतपुरमा अर्बुद रोग सम्बन्धी नर्सिङ पढाइ हुने
चितवन, १ कात्तिक / बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने भएको छ ।
पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका हुन् ।
विश्वविद्यालयका स्वास्थ्य सङ्काय डीन डा खेमराज जोशीका अनुसार भर्ना प्रक्रिया शुरु भइसकेको छ । भर्नाका लागि फाराम वितरण भइरहेको छ । बीस विद्यार्थीलाई नर्सिङ पढाइने उनले बताए । नेपालमा पहिलो पटक अर्बुदरोगसँग सम्बन्धित नर्सिङ पढाइ शुरु गरिएकाे जिकिर छ । जोशीका अनुसार विश्वविद्यालयले आङ्गिक क्याम्पसका रुपमा यहाँ पठनपाठन सञ्चालन गर्नेछ ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पहिलो दुई वर्ष जनरल नर्सिङ र त्यसपछिको एक वर्ष अर्बुदरोगसम्बन्धी पढाइ गरिने बताउनुभयो । अस्पतालमै विज्ञ प्राध्यापक भएकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उहाँको भनाइ छ ।
प्रमाणपत्र तहको नर्सिङ उत्तीर्ण गरेकाहरुले यस विषयको अध्ययन गर्न पाउने छन् । अस्पतालमा नर्सिङ कार्यक्रम शुरु भएसँगै जनशक्ति अभाव नहुने उहाँले बताउनुभयो । यस विषयको पढाइ नहुँदा हाल अस्पतालमा सामान्य नर्सिङ पढेकाहरुबाट काम लिइँदै आएको छ ।
–––
सम्पर्क इमेल : [email protected]