दक्षिणपूर्वी एसियामा संक्रमणको अवस्था र नेपालले गर्नु पर्ने कार्य
डा. शेरबहादुर पुन
गत महिना सरुवा रोग सम्वन्धि एक अन्तराष्ट्रिय कार्यशाला गोष्ठीमा भाग लिन कम्बोडिया गएको थिएँ । मलाई त्यहाँ बक्ताको रुपमा आमन्त्रण गरिएको थियो । नेपाली अनुसन्धानकर्ताको हैसियतबाट आफ्नो प्रस्तुति दिन पाउनु आफैमा गर्वको कुरा थियो ।
मेरो यात्रा शुरु भयो । काठमाडौँबाट क्वालालम्पुर हुँदै कम्बोडियाको राजधानी नोम्पेन पुगेपछि एक रात विताइयो । भोलिपल्ट क्याम्बोडियाको उत्तर पश्चिममा अवस्थित विश्व प्रशिद्ध पर्यटकीय शहर शिमरीप पुगेँ, जहाँ गोष्ठी हुँदै थियो ।
शहर अत्यन्त शुन्दर, पर्यटकहरुले भरिभराउ र नेपाल भन्दा भिन्न वातावरणको थियो । सो गोष्ठीमा बिभिन्न देशका खासगरी दक्षिणपूर्वी एसियाली देशहरुका सरकारी उच्च ओहदाका अनुसन्धानकर्ताहरु, विश्वविद्यालयका प्राध्यापकहरु, विश्व स्वास्थ संगठन र विश्व प्रशिद्ध स्वास्थ जर्नलका प्रधानसम्पादकहरु सम्मिलित थिए। यो संक्रमण विज्ञहरुबीच भैरहेका अनुसन्धान र अनुभवहरु आदानप्रदान गर्ने राम्रो अवसर र थलो पनि थियो।
भियतनाम, लाओस, म्यानमार, क्याम्बोडिया आदि देशहरुका सरकारी स्तरमा कसरी कृषि पशुहरुबाट मानिसहरुमा सर्न सक्ने संक्रमण (जोनोटिक डिजिज) रोगहरुलाई रोक्ने समयन्त्र लागु गरिरहेका छन वा नियन्त्रणका उपायहरु अपनाई रहेका छन् भन्ने कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
सरसर्ती बुझ्दा त्यहाँ ती देशहरुमा जोनोटिक रोगहरुलाई रोक्ने समयन्त्रहरु स्थापना गरेको भएतापनि त्यो सोचे अनुरुपको नतिजाहरु नपाएको वा सफलताहरु प्राप्त गर्न अझै मेहनत गर्नुपर्ने निष्कर्षहरु निकालेको पाइयो । देखिएका साझा समस्याहरु र त्यसका समाधानका उपायहरुको बारेमा हामीहरुबीच गहन छलफल गरियो । त्यो बारेमा सम्बन्धित देशहरु कसरी लागु गर्न सकिन्छ र ती खोजिएका उपायहरु कार्वायन गर्न वा गरेपछि के कस्तो चुनौतीहरु तथा प्रभाबकारी भयो भनेर अर्को गोष्ठीमा समिक्षा गर्ने बाचा सहित एक हप्ते कार्यशाला गोष्ठी समापन गरियो।
मेरो देश दक्षिणपूर्वी एसियाली क्षेत्रमा नपरेपनि त्यहाँको साझा समस्याहरु बुझ्ने मौका भने पाइयो । जुन हाम्रो देशमा देखिएका चुनौतीहरु भन्दा खासै भिन्न भने थिएन।
नेपालमा पशुपंक्षीहरुबाट कति रोगहरु फैलिरहेको छ भनेर यकिन तथ्यांक वा अनुसन्धानहरु भएको पाइदैन । कहिलेकाँहि पंक्षी खासगरी कुखुराहरुमा बर्डफ्लु देखिए सो संक्रमण नफैलनको लागि चासो र सक्रियता बढाएको देखिन्छ।
त्यस्तै मानिसमा देखिने सरुवा रोगहरुमध्ये ७० प्रतिशत भन्दा बढी जनावरबाट नै सर्ने गर्दछ तर नेपालमा यसको अवस्था के छ भनेर बैज्ञानिक अनुसन्धानहरु भने गरेको वा यस तथ्यांकलाई पुष्टी गरेको पाइदैन । जस्तै : कुनै व्यक्तिलाई बुरुसेला संक्रमण भए त्यसको स्रोत कुन जनावर हो र त्यो जनावरबाट अरु जनावर वा मानिसमा नफैलोस भन्नलाई तत्काल कस्तो कदम चाल्ने भन्ने योजना भएको वा कार्वान्यन भएको पाइदैन।
थाहा भएका रोगहरुको स्रोत खाज्ने अलावा नेपालमा अहिलेसम्म थाहा नभएका अरु सरुवा रोगहरुको अवस्था के छ भनेर खोज्नु पनि अति आवश्यक भैसकेको छ। प्रत्येक बर्ष नेपालमा लाखौँ ज्वरोका बिरामीहरुको कारण कहिले पनि पत्ता लाग्ने गरेको छैन र यसको लागि सघन र बृहत अनुसन्धान गरेको पनि देखिदैन, जुन अत्यन्त गर्न जरुरी भैसकेको छ। रोग पहिचान नगर्दा उपचार प्रभाबकारी नहुने, अनाश्यक जाँच र औषधीहरुको प्रयोग हुने, बच्ने उपायहरु थाहा नहुने र महत्पूर्ण कुरा भनेको फेरी आगामी सोहि समयमा त्यही संख्यामा वा त्यो भन्दा बढी यही अज्ञात रोग लिएर अवश्य आउनेछ वा आउने गरेका छन।
निष्कर्षमा, विकाशको हिसाबले नेपाल भन्दा अगाडी रहेका दक्षिणपूर्वी एसियाली देशहरुमा पशुपंक्षीहरुबाट संक्रमणको कारणले हुन् सक्ने प्रकोप वा महामारीबाट बच्न विभिन्न प्रयासहरु गरेका देखिन्छन, र त्यसबाट उत्त्पन्न चुनौतीहरुलाई छिमेकी देशहरुले आफ्नो साझा चुनौतीको रुपमा लिने गरेको र आफुहरु बीच अनुभवहरु पनि साटासाट गरेको देखियो, जसबाट संक्रमणबाट उत्पन्न हुनसक्ने महामारीलाई धेरै हदसम्म न्यून गर्न सकिने छ।
नेपालमा बर्षेनी ठुलो संख्यामा झाडापखाला र ज्वरोका कारणहरु कहिले पत्ता नलाग्ने र यस्ता रोगहरु प्रमुख स्रोत पशुपंक्षीहरु हुने सक्ने भएकोले यस्तो सम्मेलनहरुको ठुलो आवश्यकता देखिन्छ। यसबाट समस्याहरुको पहिचान र समाधानका उपायहरु वा अनुभवहरु आदानप्रदान गर्न सकिने छ। नेपाल दक्षिण एसियाली मुलुक भएको र यसका छिमेकीहरु भारत, बंगलादेश, पाकिस्तान आदि देशहरु भएकाले ती देशहरुसंग समन्वयन गरी यो क्षेत्रमा पनि देखिरहेका साझा ज्ञातअज्ञात सरुवारोगहरु पहिचान र त्यसको सम्बोधन गर्न जरुरी भैसकेको छ। यसको लागि शुरुवाती पहल नेपालले पो लिने हो कि ?
# डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
सम्पर्क इमेल : [email protected]