महिला कर्मचारीलाई तलव सहितको सुत्केरी विदा ९८ दिन
काठमाडौँ, १५ भदौ । सरकारी, गैर सरकारी वा निजी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनु अघि वा पछि गरी कम्तीमा ९८ दिनसम्मको तलवी विदा दिन प्रस्ताव गरिएको छ ।
यदि कुनै सुत्केरी महिलालाई ९८ दिनको विदा अपुग हुने देखियो वा जटिलता आयो भने स्वास्थ्यकर्मीको सिफारिसमा थप एक महिना तलव सहितको प्रसूति विदा पाउने व्यवस्था मिलाइदैछ ।
साउनको तेस्रो साता संसदमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सुत्केरी विदा त्यसपछि कार्यालय आँउदा कार्यालयले मिलाउनुपर्ने व्यवस्थाको बारेमा स्पष्टसंग उल्लेख गरेको छ ।
उक्त विधियेकको दफा १३ को उपदफा ३ मा सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई बर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने छ भनिएको छ ।
यस्तै उपदफा ४ मा यदि कुनै गर्भवती महिलाले मृतक शिशुलाई जन्म दिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा समेत उपदफा १ बमोजिम विदा पाउने भनिएको छ । उपदफा १मा ९८ दिनसम्मको तलवी विदा उल्लेख छ ।
विधेयकमा सरकारी गैर सरकारी वा निजी संघ संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरी हुनु अघि वा पछि पारिश्रमिक सहितको १५ दन प्रसूति स्याहार विदा पाउने प्रस्ताव गरिएको छ ।
यो विधेयकमा कुनै महिलालाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन स्वास्थ्य रुग्णता ( मर्विडिटी)को कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भएमा त्यस्तो शल्यक्रिया हुनु अघि वा पछि कम्तीमा ३० दिनसम्मको तलव सहितको अतिरिक्त विदा दिनुपर्ने उल्लेख छ ।
यसअघि सुत्केरी भएका कर्मचारीलाई तलवी विदा ६ महिना दिइने भनिएको थियो । तर विधेयकमा ९८ दिन प्रस्ताव गरिएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गत २३ साउनमा यो विधेयक संसदमा पेश गरेका थिए ।
सम्पर्क इमेल : [email protected]