आयुर्वेदिक औषधिको रुपमा यसरी प्रयोग गर्न सकिन्छ तुलसी
तुलसी चिकित्साका दृष्टिकोणले महत्वपूर्ण हुनुका साथै हिन्दू धर्मावलम्बीहरूले विभिन्न चाडपर्वमा यसको पूजा गर्ने हुँदा धार्मिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्र्ण मानिन्छ ।
चिकित्साका दृष्टिकोणले यसको वर्णन आयुर्वेदका विभिन्न ग्रन्थहरूमा पाइन्छ । विशेषतः यसलाई चिसोबाट उत्पन्न साधारण रुघाखोकी, ज्वरो आदिमा निकै प्रभावकारी जडीबुटी मानिन्छ ।
के हो यो जडीबुटीे ?
वनस्पति कुल लेबियट अन्तर्गत पर्ने तुलसीको वैज्ञानिक नाम ओसिमम सान्कुम हो । यसलाई संस्कृतमा ग्राम्या (गाँउघरमा पाइने), बहुमञ्जरी (लामो धेरै फलहरू हुने) आदि नामले पनि चिनिन्छ । त्रिभुवन कीर्तिरस, तुलसीपत्र मिश्रित कफ सिरप र तुलसी चियाको रूपमा बजारमा तयारी औषधिको रूपमा समेत पाइन्छ ।
तुलसी २ देखि ४ फिटसम्म अग्लो हुने थुप्रै हाँगा बिगायुक्त बैजनी रंगको डाँठयुक्त बिरुवा हो । यसका पात लामो, अण्डाकार, दुवैपट्टि हल्का झुसयुक्त हुन्छ ।
पातलाई मिच्दा एक प्रकारको सुगन्ध पनि निस्कन्छ । यसको फूल हाँगाको टुप्पामा अत्यन्त साना प्याजी वा बैजनी रंगका ३–८ इन्च लामो हुन्छ । यसको सम्पूर्ण बिरुवाबाट विशेष प्रकारको ल्वाङको झैँ गन्ध निस्कन्छ ।
तुलसी नेपालको प्रायः सबै ठाउँमा विशेषगरी समुद्र सतहदेखि ६ हजार फिटसम्मको उचाइमा पाइन्छ । नेपालका विभिन्न ठाउँमा यसको व्यापारिक दृष्टिकोणले खेती पनि गरिएको पाइन्छ ।
यसमा के–के तत्व पाइन्छ ?
- यसको पात तथा फूलमा उडनशील तेल हुन्छ, जसमा फिनोल ४५.७६ प्रतिशत तथा अल्डिहाडड १५.२५ प्रतिशत पाइन्छ ।
- बीजमा १७.८ प्रतिशत स्थिर तेल पाइन्छ ।
- त्यस्तै प्रकारले अल्कलाइड, ग्लाइकोसाइड, टनिक, एस्कर्विक एसिड आदि तत्वहरू पाइन्छन् ।
हालै एक अनुसन्धानबाट प्राप्त जानकारीअनुसार तुलसीको उडनशील तेलमा पाइने तत्वहरूमा क्षयरोगनाशक शक्ति पाइएको छ । वातावरण शुद्धीकरणमा पनि यसको महत्वपूर्ण स्थान रहेको पाइएको छ । झिँगा, लामखुट्टे आदि किराहरू पनि यस बिरुवाको वरिपरि नपाइने हुनाले वातावरणीय शुद्धतामा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ ।
यसको प्रयोग कसरी गर्ने ?
प्रायः तुलसीको पात, फूल तथा बीजलाई नै औषधिका रूपमा प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई विभिन्न रोगमा एकल रूपमा वा अरू द्रव्यसंग मिसाएर दिइन्छ । तुलसीको प्रयोग हुने केही रोगहरू यसप्रकारका छन् :
- तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलि)मा मह मिसाएर दिनको २ देखि ३ पटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।
- बच्चाहरूको साधारण पेटदुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ ।
- मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ ।
- विषम ज्वर वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा हुन्छ ।
- केही रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातोपानीसँग पनि सेवन गर्न सकिन्छ । जसले साधारण रुघाखोकी हुनबाट जोगाउँछ ।
- किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]