नगरप्रमुखद्वारा जिल्ला अस्पतालमा छड्के

लमजुङ, १४ चैत । बेँशीसहर नगरपालिका प्रमुखसहितको टोलीले जिल्ला अस्पतालको छड्के अनुगमन गरेको छ । आज बिहान जिल्लाका सञ्चारकर्मीसहित मानव विकास तथा सामुदायिक सेवाको व्यवस्थापनमा सञ्चालित लमजुङ जिल्ला सामुदायिक अस्पतालको अनुगमन गरेको हो ।

जिल्ला अस्पतालले उपलब्ध गराउँदै आएको सेवा सुविधा र अस्पताल व्यवस्थापनको बारेमा अनुगमन भएको हो । नेपाल सरकारबाट प्राप्त सेवा सुविधालाई अस्पतालले के कसरी प्रवाहित गरेको छ भन्ने बारेमा अनुगमन गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

“सरकारबाट प्रदान गरिने निःशुल्क औषधि, बिरामीलाई निःशुल्क खाना, अस्पतालको फोहर व्यवस्थापन, बिरामीले पाएका सेवा सुविधाका बारेमा अनुगमन गरेका छौँ” नगर प्रमुख अर्यालले भने,–“अनुगमनको क्रममा भेटिएका सामान्य कमजोरी सुधार गर्न सुझाव दिएका छौँ ।”

अनुगमनको क्रममा अस्पतालमा रहेका बिरामीले पाएको सेवा सुविधाप्रति सन्तुष्टि व्यक्त गरेका थिए । नगरपालिकाले अस्पतालसहित जिल्लाको कार्यक्षेत्रअन्तर्गत सर्वसाधरणसँग प्रत्यक्ष सरोकार राख्ने निकायको अनुगमन गर्दै आएको छ ।

सरकारी वा गैरसरकारी निकायबाट नागरिकले पाउनुपर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन अनुगमन कार्यलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *