दक्षिण सुडानमा मस्तिष्क ज्वरोले २८ को मृत्यु : डब्लूएचओ

जुबा,२५ फागुन । दक्षिण सुडानको पूर्वीय भूमध्य भागमा पर्ने राज्यमा फैलिएको मस्तिष्क ज्वरोका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बिहीबार दिएको जानकारीअनुसार मस्तिष्क ज्वरोबाट प्रभावित हुनेको संख्या हाल १०७ पुगेको छ ।

केही दिनदेखि फैलिँदै गएको रोगको प्रकोप नियन्त्रणमा नआएमा मृत्यु हुनेको संख्या अझ बढ्ने खतरा रहेको डब्लूएचओको आपतकालीन, र सहायता प्राविधिक अधिकृत रमादान ओटीमले बताए ।

अहिले इमाटोङ प्रदेशको तोरिट जिल्लामा पर्ने लिरे र इमुरोक पायाममा मस्तिष्क ज्वरोको प्रकोप बढी फैलिएको बताइएको छ । पायाम भन्ने ठाँउ त्यस जिल्लाको दोस्रो ठूलो प्रशासनिक केन्द्र मानिन्छ ।

“हामीलाई प्राप्त विवरणअनुसार अहिलेसम्म मस्तिष्क ज्वरोका कारण २८ जनाको मृत्यु भएको र १०७ जना बिरामी भएका छन्, यी घटनाहरू टोरिटको लिरे र इमुरोक पायाममा भएका हुन्,” ओटीमले भने ।

रोग प्रभावित ठाँउहरूमा रोगका बारेमा अनुसन्धान गर्न, पहिचान गर्न र त्यसका विरुद्धमा रोकथामका उपायहरू अपनाउन विभिन्न टोलीहरू पनि खटाइएको उनले बताए ।

दक्षिण सुडान जस्तै अरू २६ वटा अफ्रिकी मुलुकलाई पनि ‘मस्तिष्क ज्वरोको इलाकाको रूपमा चिनिन्छ । ती देशहरूमा यस्ता सरुवा रोगहरूका कारण हरेक वर्ष धेरै जनाको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *