स्वास्थ्य सेवा विभागमा हाजिर भए डा. पन्त
काठमाडौँ, २९ माघ । डा. राजेन्द्र पन्त स्वास्थ्य सेवा विभागमा हाजिर भएका छन् । सर्बोच्च अदालतले निमित्त महानिर्देशकबाट हटाउने निर्णय कार्यान्वनय नगर्न भन्दै गत १८ माघमा स्वास्थ्य मन्त्रालयलाई दिएको अन्तरिम आदेश अनुसार उनी विभागमा हाजिर भएका हुन् ।
मन्त्रालयले नयाँ निमित्त महानिर्देशक भएका डा. तारानाथ पौडेललाई पदाधिकार रहेको कार्यालय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हाजिर हुन जान निर्देशन दिएको छ ।
निजी गाडीमा पौने ४ बजे विभाग पुगेका डा. पन्तले महानिर्देशक रहेका डा. पौडेलसंग भेटघाट गरेनन् । उप महानिर्देशक चुडामणी भण्डारीको कार्यकक्षमा गएर हाजिर गरेका उनले सभाहलमा गई कर्मचारीहरु समक्ष सानो मन्तव्य समेत राखेका थिए ।
उनले गत ३० पुसको निर्णय कानूनी आधारमै त्रुटिपूर्ण रहेको पाएपछि आफू अदालत गएको र अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिए । उनले सबै कर्मचारीहरुलाई काममा एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए ।
डा. पन्तले डा. पौडेललाई बुधबारबाट लागूहुने गरी रमाना तयार गर्ने र त्यसपछि विभागको पूर्ण जिम्मेबारी आफूले सम्हाल्ने बताए ।
सम्पर्क इमेल : [email protected]