डोल्पामा पहिलो पटक आङ खस्ने महिलाको पहिचान
डोल्पा, ३ माघ । डोल्पा जिल्लामा पहिलो पटक आङ खस्ने महिलाहरुको पहिचान गर्न थालिएको छ ।
महिलाको आङ खस्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रममा साविकका त्रिपुराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिब २५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत महिला आङ खस्ने रोगबाट पीडित रहेको महिला सशक्तीकरण केन्द्रकी कोषाध्यक्ष काली चलाउनेले बताइन् ।
केड नेपाल र महिला सशक्तीकरणद्वारा संयुक्तरुपमा आयोजित अन्तरक्रियामा केडका जिल्ला संयोजक उमाकन्त भुसालले आर्थिक सहयोग गरी स्थानीय संघसंस्थासँग मिलेर काम गर्ने जानकारी गराए ।
“महिला सशक्तीकरणअन्तर्गतका जोडीदार सामाजिक सहजकर्ता पनि भएकाले महिलाको आङ खस्ने रोगको पहिचान गर्न सहज हुने भएको छ” उनले भने ।
हिमाली जिल्ला र चेतनाका कमीको कारणले पनि डोल्पाका महिलामा आङ खस्ने रोगको समस्या धेरै भएको जोडी सहजकर्ता धनचन्द्रा सार्कीले अनुभव सुनाइन् ।
“कर्णालीका महिलालाई पौष्टिक आहार पनि छैन काम नगरी खान पुग्दैन्,” उनले भनिन् “पहिले पहिले महिलाले लाज मान्ने गर्थे अब त सजिलै भन्न सक्ने भइसकेकाले आङ खस्ने रोगसम्बन्धी जानकारी लिन सहज भएको छ ।”
जिल्लामा पहिलो पटक महिलाको स्वास्थ्यलाई मध्यनजर गरी केडले आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागेको हो । उनीहरुको पहिचान पछि जाँच गरिने र तराईका जिल्लामा निःशुल्क उपचार गरिने भएको छ । रासस
सम्पर्क इमेल : [email protected]