पूर्णखोप सुनिश्चित महानगर बन्यो काठमाडौँ महानगरपालिका
काठमाडौँ, २३ पुस । काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगर घोषित गरिएको छ । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा आयोजित विशेष समारोहमा महानगरलाई पूर्ण खोप सुनिश्चित नगरको रुपमा घोषित गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका संयोजक शिवसुन्दरराज बैद्यले काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सरकारको गम्भीर ध्यानकर्षण गराएका थिए । उनले भूकम्पपछि कुरुप बनेको काठमाडौंको पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि काठमाडौं महानगरपालिका र सरकारको ध्यानाकर्षण गराए ।
उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने दायित्व पूरा गर्न पनि सरकारसँग आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहराले हरेक बालबालिकाले पूर्ण खोप पाउन भन्नेमा सरकार सचेत रहेको बताए । उनले सबै स्थानीय तहमा पूर्ण खोपको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो ।
सम्पर्क इमेल : [email protected]