छपन्न बर्ष लागेको केन्द्रीय अस्पतालको अवस्था, समस्या नै समस्या
काठमाडौँ, २२ पुस । ‘भन्दा सरकारले चलाएको एक मात्रै केन्द्रीय बाल अस्पताल हो कान्ति तर यहाँ इएनटीका डाक्टर एक जना पनि छैन । इएनटीसम्वन्धी समस्या लिएर आएका बालबालिकालाई धमाधम रिफर गर्न बाध्य छौँ,’ कान्ति बाल अस्पतालको ५६ औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा अस्पताल विकास समितिका अध्यक्ष सुवोधकुमार आचार्यले शुरुमै भनेका थिए ।
त्यसअघि नै करीब आधा घण्टा लामो सम्वोधनमा अस्पतालका निर्देशक डा. गणेशकुमार राईले अस्पतालका दर्जनौ समस्या सुनाईसकेका थिए । बार्षिकोत्सब समारोहमा अतिथि बनेका स्वास्थ्य मन्त्री दीपक बोहरा र सचिव डा पुष्पा चौधरीले आफ्ना सम्वोधनमा रेडिमेट उत्तर दिए, ‘मन्त्रालयले आवश्यक सहयोग गर्नेछ ।’
देशकै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति यतिवेला चरम आर्थिक संकटबाट गुज्रिएको छ । ‘यतिवेला मासिक करीब २० लाख घाटा छ । कर्मचारीलाई तलव खुवाउन धौधौ छ,’ बार्षिक प्रगति विवरण पेश गर्ने क्रममा अस्प्तालका निर्देशक डा. राईले सुनाए ।उनले स्वास्थ्य मन्त्रालयले आर्थिक सहयोग गर्ने प्रतिवद्धता अनुरुप आफूहरुले गतवर्ष ठूलोसंख्यामा कर्मचारी भर्ना गरेपनि पछि सहयोग नपाएपछि समस्या बढेको जानकारी दिए ।
‘५२ बेड आईसियू चलाउन भनेर डाक्टर तथा नर्स भर्ना गरियो तर मन्त्रालयले सो अनुसार दिनुपर्ने करीब ३ करोड रकम दिएन । अहिले नर्सहरु काम छाडि हिडेका छन्, नयाँ भर्ना गर्न आर्थिक कारणले नै सकिएको छैन,’ डा. राईले भने ।
हर्निया र हाइड्रोशिलको अप्रेसन गर्न एक बर्ष कुर्नुपर्ने
कान्तिका निर्देशक डा. राईले कान्ति अस्पतालमा जनशक्ति अभावको कारण हर्निया र हाइड्रोशिलको अप्रेसन गर्न ६ महिना देखि १ बर्ष कुर्नुपर्ने बाध्यता रहेको बताए । ‘आवश्यक जनशक्ति छैन । विरामीहरुले लामोसमय कुर्नु पर्छ । यसले सेवाको चुस्ततामा समेत प्रश्न उठाएको छ,’ उनले भने ।
‘टेक्निसियन अभावमा व्लडबैकको सेवा पूर्ण चलेको छैन । अक्सिजन प्लान्टले काम गरेको छैन ।जेनेटर पुरानो भईसकेको छ । सिटीस्क्यान मर्मत हुँदैछ । यस्ता धेरै समस्या छन् तर यसका बाबजुत हामीले सकेको सेवा दिइरहेका छौँ,’ डा. राईले भने ।
कार्यक्रममा विरामीको तर्फबाट बीरेन्द्रराज बास्तोलाले बोलेका थिए । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]