औषधिको गुणस्तरमा कुनै सम्झौता हुँदैन : स्वास्थ्य सचिव डा. चौधरी

काठमाडौँ, २१ पुस । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले औषधिको गुणस्तरमा सम्झौता नहुने बताएकी छन् । उनले औषधिको गुणस्तर कायम गर्ने कार्यमा कुनै पनि सम्झौता नगर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएकी छन् ।

विभागद्धारा आज आयोजित चालु आर्थिक बर्षको पहिलो चौमासिक समिक्षा गोष्ठीको उद्घाटन गर्दै डा चौधरीले जनताको स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही नहुने भन्दै औषधिको गुणस्तरमा सम्झौता गर्न नहुने बताएकी हुन् ।

संविधानले जनताको आधारभूत स्वास्थ्य निशुल्क साथै गुणस्तरीय हुनुपर्ने स्पष्ट पारेको भन्दै उनले सोही अनुसार गर्न उत्पादक, आयातकर्ता, वितरक तथा व्यावसायीको ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले जनतालाई सस्तो र गुणस्तरीय औषधि उपलव्ध गराउनु राज्यको दायित्व हो गुणस्तरीय औषधि उपलव्ध गराउन सरोकारवालाको ध्यानाकर्षण गराए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पहिलो चौमासिकमा गरेको प्रगतिविबरण प्रस्तुत गरेका थिए । उनले औषधिमा गुणस्तर कायम राख्न विभाग प्रतिवद्ध रहेको बताए ।

औषधिले उठाएको राष्ट्रियता : उत्पादक र आयातकर्ताबीच आ-आफ्नै तर्क
बिहीबार विभागले आयोजना गरेको समिक्षा गोष्ठीमा औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघका प्रतिनिधिलाई पनि बोल्ने अवसर दिइएको थियो । सो क्रममा दुबै संस्थाका प्रतिनिधीहरुले औषधिलाई राष्ट्रियताको मुद्धासंग जोडेर आफ्ना तर्क पेश गरे ।

कार्यक्रमको शुरुमा बोल्ने अवसर पाएका औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले औषधिमा आत्मनिर्भर गराउन सरकारले स्वदेशी उद्योगलाई सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘स्वदेशी उद्योगलाई सहयोग गर्नु भनेको राष्ट्रियतासंग पनि जोडिएको विषय हो । हामी स्वदेशमै औषधि उत्पादन गरी आत्म निर्भर हौँ भन्दा किन हाम्रो कुरा सुनिदैन ?’ उनले भने ।

दाहालले स्वदेशमै उत्पादन हुने औषधिहरुमा कच्चा पदार्थ बाहेक औषधि आयातमा रोक लगाउनुपर्ने बताए । उनले स्वदेशमा उत्पादन नहुने औषधिहरु आफूहरुले विशेष सम्झौता गरी बाहिरबाट ल्याउने समेत दावी गरे ।

दाहाल पछि सम्वोधन गर्न पुगेका औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले दाहालको तर्कलाई कटाक्षपूर्ण जवाफ दिए । राष्ट्रियता भनेको स्वदेशको उत्पादनले मात्रै नहुने भन्दै आचार्यले गुणस्तर, मूल्य र सहज उपलव्धता संगसंगै जोडिएर आउने तर्क गरे । ‘विरामीका लागि पहिलो कुरा औषधि गुणस्तरीय हो कि होइन भन्ने हुन्छ होला ? दोस्रो कुरा मूल्य सहज छ कि छैन भन्ने पनि होला ? यी दुबै कुराहरु भएन भने राष्ट्रियता भनेर मात्रै के हुन्छ ?,’उनले भने ।

उनले गुणस्तर र मूल्यमा प्रतिस्पर्धामा उत्रिएरै सेवा गर्न स्वदेशी उत्पादकहरुलाई सुझाव दिए । विश्वव्यापार संगठनको पक्षराष्ट्र भएको मुलुकले औषधिमा कसैलाई निषेध गर्न नसक्ने भन्दै आयातकर्ताहरुले स्वदेशी औषधिसंग प्रतिस्पर्धा गरेर अघि बढ्न चाहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *