लुसाकामा हैजाबाट ४२ को मृत्यु, प्रभावित हुनेको संख्या २ हजार पुग्यो
लुसाका, १८ पुस । जाम्बियाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताए ।
उनले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिए । अधिकारीहरुले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरु गरेको पनि उनले बताए ।
मन्त्रालयले त्यतिबेला देखि नै धेरै मानिस एकै ठाँउमा भेला हुने कार्यक्रमहरु गर्न प्रतिबन्ध गरेको जनाएको छ । ठूला बैबाहिक समारोह, सांस्कृतिक कार्यक्रमहरु, सडक व्यापार लगायतलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल रचनात्मक कामहरु थाल्न प्रतिरक्षात्मक निकायहरुलाई शुक्रबार निर्देशन दिएका छन् । रासस/सिन्ह्वा
सम्पर्क इमेल : [email protected]