अढाई सय डाक्टर सहित १० हजारले दिए निवेदन
काठमाडौँ, १८ पुस । देशभरका करीब १० हजार स्वास्थ्यकर्मीले सरुवा मागेका छन् । यसअघि निर्वाचन आचारले नियमित सरुवा नहुँदा सरुवा माग्नेको संख्या एकैपटक ठूलो देखिएको हो । स्वास्थ्यका कर्मचारीको सरुवा असोजमा मन्त्रालय, कात्तिकमा विभाग, मंसिरमा क्षेत्र र पुसमा जिल्लाले नियमित सरुवा गर्ने चलन छ ।
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले जिल्ला क्षेत्र विभाग तथा मन्त्रालय गरी सरुवा माग्नेको संख्या करीब करीब १० हजार पुगेको अनुमान गरे । उनले मन्त्रालयमा सरुवाको माग गर्ने आठौँ तह माथिका चिकित्सकको संख्या मात्रै अढाई सय नाघेको बताए ।
‘यसपटक निर्वाचन आचार सहिताका कारण नियमित सरुवा हुन पाएन । त्यसैले एकैपटक ठूलोसंख्यामा सरुवा हुनका लागि निवेदन आएका छन् । तर टुंगो लागिसकेको छैन,’ उनले भने ।
उनले संघीय संरचना अनुसार कतिपय कर्मचारीहरु स्थानीय तहमा गएका कारण सरुवाको जिम्मेबारी कसको हुने भन्नेमा समेत दुविधा रहेको बताए । ‘त्यसैले अहिले हामी सामान्यप्रशासन मन्त्रालयसंग छलफल गरी निर्णय लिने तयारीमा छौँ,’ उनले भने ।
चिकित्सक नर्स, ल्याव टेक्निसियनलाई स्थानीय तहमा नपठाइने
स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स ल्याव टेक्निसियनलाई स्थानीय तहका कार्यालयमा नपठाउने निर्णय गरेको छ । ती कर्मचारीहरु थोरै संख्यामा रहेको र उनीहरु बिरामीको उपचारमा आवश्यक पर्ने भन्दै नपठाउने निर्णय गरेको हो ।
‘केही चिकित्सक तथा नर्सले स्थानीय तहमा जाने इच्छा देखाएका थिए तर बिरामीको स्वास्थ्योपचारलाई ध्यानमा राखेर हामीले अनुमति दिएनौँ,’ खनालले भने ।
सम्पर्क इमेल : [email protected]