मुगुमा छट्पटाएकी होइजाली चनाराको ‘एयर लिफ्टिङ’ गरी उद्दार
सुर्खेत १६ पुस । जटिल गर्भअवस्था कारण तीन दिन देखि मुगुमा छटपटाई एक गर्भवती महिलालाई मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले ‘एयर लिफ्टिङ’ गरी सुर्खेत ल्याएको छ । अहिले उनको मध्यपश्चिम क्षेत्रिय अस्पताल सुर्खेतमा उपचार भई रहेको छ ।
खत्याड गाँउपालिका १० मुगुकी १८ बर्षीया होइजाली चनारालाई गर्भअवस्थामा हुने जटिल अवस्था ( एक्कासी रक्तश्राव ) भएपछि परिवारले गत शुक्रबार स्थानीय कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र पुरयाइएको थियो । तर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मीले केश हेर्नासाथ आफूकहाँ उपचार सम्भव नभएको भन्दै सुविधा सम्पन्न अस्पतालमा पुरयाउन ‘रिफर’ गरेका थिए ।
त्यसलगत्तै परिवारले बोकेरै बाजुरा जिल्लाको कोल्टी विमानस्थल पुराएका थिए । ‘हामीले थाह पाउनासाथ आज मकालु एयरको विमानबाट उनलाई ‘एयर लिफ्टिङ’ गरि साढे १२ बजे सुर्खेत ल्यायौँ,’ मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रिता जोशीले भनिन्, ‘अहिले उपचार सुरु गरेका छौँ ।’
निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले उपचार उनको ‘एयर लिफ्टिङ’ र उपचार खर्च क्षेत्रीय स्वास्थ्यले बेहोर्ने भएको व्यवस्था मिलाएको बताए ।
‘रक्तश्राव हुनासाथ उहाँहरुले स्थानीय कोटडाँडा पीएचसी पुरयाउनुभएछ । तर त्यहाँका स्वास्थ्यकर्मीले जटिल केश भन्दै सुविधा सम्पन्न अस्पतालमा पुराउन भन्नुभएछ । त्यसपछि परिवारले सुर्खेत वा नेपालगञ्ज लैजाने भन्दै नजिकको कोल्टी विमानस्थलसम्म बोकेरै लग्नुभयो । त्यो थाह पाएपछि हामीले मकालु एयरसंग समन्वय गरी ‘एयर लिफ्टिङ’ गरेका हौँ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]