संघीयता र स्वास्थ्यको विषयमा बृहत अन्तरक्रिया आयोजना गर्दै एनडीए

काठमाडौँ, १० पुस । नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ (एनडीए)ले आगामी १५ पुस शनिबारका दिन स्वास्थ्य सम्वन्धि बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नयाँ बानेश्वरस्थित बानेश्वर व्याङक्वेटमा दिउसो २ बजे देखि हुने अन्तरक्रिया कार्यक्रमको एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने बताइएको छ ।

‘संघीय नेपालमा स्वास्थ्यको कार्यादिशा ‘नामक सो अन्तरक्रिया कार्यक्रममा तीन जना विषय विज्ञले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । संघका अध्यक्ष डा सन्तोष पौडेलका अनुसार चिकित्सा शिक्षाका बारेमा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा गणेश गुरुङले बोल्ने छन् ।

यस्तै स्वास्थ्य सेवा प्रदायक संस्था तथा व्यक्तिका सम्वन्धमा राज्यका नियमनकारी निकायको भूमिका कस्तो हुनुपर्ने भन्ने विषयमा नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष प्राडा शशि शर्माले आफ्नो प्रस्तुति राख्ने छन् ।

यसैगरी सरकारी स्वास्थ्य सेवाको स्वरुप र संरचनाको विषयमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनीले आफ्नो प्रस्तुति दिनेछन् ।

‘खासगरी मुलुक संघीयतामा प्रवेश गर्दै गरेको बेला स्वास्थ्यको संरचना र निकायहरु कसरी सञ्चालित हुन्छन भन्ने चासो रहेको छ । यस्तै पछिल्लो समयमा स्वास्थ्यका विषयमा देखिएका समस्या, युवा चिकित्सकहरुको समस्या, केन्द्र र प्रादेशिक सरकारले अपनाउनुपर्ने भूमिकका बारेमा रणनीति बनाउन आवश्यक देखिएको छ । त्यसैले भावि सरकारलाई मद्धत पुग्ने गरी कार्यक्रमको डिजाइन गरिएका छ,’ संघका महासचिव डा. रमेश ढकालले भने ।

संघका सचिव डा. नविन पोखरेलले भावि प्रधानमन्त्रीको रुपमा लिइएका ओलीलाई नै सहभागी गराउनुको कारण देशको स्वास्थ्य सेवा र नयाँ सरकारको भावि कार्यदिशामा ध्यान देओस भन्नु रहेको बताउँछन् ।

कार्यक्रममा भाग लिन देशभरबाट संघका प्रतिनिधी चिकित्सकहरु राजधानी आउने बताइएको छ । त्यसका लागि संघले योजनाबद्ध ढंगले तयारी भइरहेको डा. पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *