प्रसूतिमा समस्या बढ्न थालेपछि भरतपुर अस्पतालद्धारा कारणको खोजी गर्दै

चितवन, ७ पुस । प्रसूतिका लागि आएका महिलाहरुमा एकाएक समस्या देखिने र मृत्यु समेत हुन थालेपछि भरतपुर अस्पतालले कारण खोजी गर्न थालेको छ ।

चालु आवमा भरतपुर अस्पतालमा प्रसूति गराउन आएका मध्ये ६ जना महिलाको मृत्यु भइसकेको छ, जसमध्ये पाँच जनाको शल्यक्रियापछि मृत्यु भएको हो । गएको महिनामा मात्रै दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल मृत्यु भएकामध्ये तीनजना मुटुको समस्याका कारण र अन्य तीनजनालाई अकस्मात शरीरका विभिन्न अंगहरुले काम गर्न छाडेर मृत्यु भएको बताए । अस्पतालमा दैनिक १० देखि १२ वटासम्म प्रसूतिको शल्यक्रिया हुने गर्दछ ।

डा पोखरेलले शल्यक्रिया गरेका कतिपय सुत्केरीमा विभिन्न खालका इन्फेक्सन भई मिर्गौला, कलेजो लगायतका महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै जाने र मृत्युसमेत हुने गरेको बताए ।

गएको मंसिरमा मात्रै तीनजनामा यस्तो समस्या आएकामा एक जनालाई बचाउन सकिएको र अन्य दुई जनाको मृत्यु भएको उनले बताए । यसलगत्तै अस्पतालले औषधि व्यवस्था विभाग र परिवार स्वास्थ्य महाशाखालाई पत्राचार गरी अवस्थाको बारेमा जानकारी गराएको थियो ।

डा. पोखरेलले सरकारले उपलब्ध गराउने औषधिको गुणस्तरको कारण समस्या भएको हुनसक्ने अनुमान गरिएको बताए । उनले भने, “सरकारले निःशुल्क उपलब्ध गराएको सलाइन पानीमा खराबी भएको हुन सक्ने अनुमान गरेका छौँ ।” पछिल्लो समय अस्पतालले चलाउँदै आएको सलाइन पानी हटाएर नयाँ खरिद गरी चलाएको पनि उनले बताए ।

औषधि व्यवस्था विभागको टोलीले निःशुल्क बाँडिएको सलाइनसहितका औषधिको नमूना लगेको पनि विभागीय प्रमुख पोखरेलले बताए । अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्तलाई चिकित्सकले औषधि आफै खरिद गर्न सुझावसमेत दिँदै आएका छन् ।

सरकारले निःशुल्क उपलब्ध गराउने तिनै औषधि अन्य बिरामीलाई पनि प्रयोग गरिरहेकाले सलाइनलगायत औषधिका कारण नै समस्या भएको हो होइन एकिन गर्न नसकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा रुद्र मरासिनीले बताए ।

देशभरका अस्पतालहरुमा तिनै सलाइन र औषधि प्रयोग भइरहेकाले औषधि व्यवस्था विभागमा परीक्षणका लागि लगेको नमूनाको नतिजा आएपछि मात्रै भन्न सकिने उनले बताए ।

सामाजिक सेवा इकाईबाट विपन्न र बीमा गरेका बिरामीहरुका लागि शल्यक्रिया र अन्य उपचारमा तिनै औषधि प्रयोग भएको भएपनि कुनै समस्या भने देखिएको छैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *