स्कुले विद्यार्थीलाई दिइयो प्राथमिक र प्रजनन् स्वास्थ्य सम्वन्धी तालिम
धरान ३ पुस । विभिन्न स्थानका आठ विद्यालयमा अध्ययनरत एक हजार ५ सय ६० जना विद्यार्थीलाई प्राथमिक स्वास्थ्य, प्रजनन स्वास्थ्य र रजश्वला सम्वन्धी अभिमुखिकरण तालिम दिइइएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रोट्र्याक्ट क्लव अफ धरान घोपा , रङ्गेली अस्पताल, बिराटनगर लेडिज सर्कल ५ , बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ र इप्का लेब्स लगायतका संस्थाहरुको संयुक्त अगुवाइमा गतबुधबारबाट तालिम दिइएको हो ।
कार्यक्रमको अन्तिम दिनमा आज मकालू एकेडेमीमा अध्ययनरत कक्षा ५ , ६ , ७ , ८ , ९ र १० का १७० जना विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रअ भक्तराज सुब्बाले जानकारी दिए । यस अघिका ५ दिनमा रङ्गेलीको मिनिलेन्ड एकेडेमी , भानु एकेडेमी , पब्लिक मावि , महालक्ष्मी मावि , रत्ना मावि , जनता मावि र पार्वती माविका १ हजार ३९० जना विद्यार्थीहरु सहभागी थिए ।
तालिममा पानीमा डुबिरहेको , कुकुरको टोकाइ , सर्प टोकाइ , हाथ खुट्टा भाचिएका , नाकबाट रगत बगिरहेको , बिसाधी सेवन , ब्लिडिन्ग आदिजस्ता अवस्थाहरुमा कसरी प्राथमिक उपचार गर्ने र ज्यान कसरी बचाउन सकिन्छ भन्ने बारेमा सिकाइएको थियो ।
यस्तै किशोरी अवस्थामा महिलाहरुमा हुने रजस्वलाबारे भ्रामक कुराहरुबारे बताइएको थियो । २८ दिनमा महिनावारी भएन भने स्वास्थ चौकी जाउँ, महिनावारी हुदा सरसफाईलाई ध्यान दिउँ , महिनावारी प्राकृतिक कुरा हो कुनै पाप होइन र रजस्वला भएका महिलालाई छिछि दुरदुर होइन माया गरौ जस्ता अनेक सन्देश सहित विद्यार्थीहरुलाई रजस्वला सम्बन्धि सचेतना दिएको रङ्गेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम देबले बताए ।
सचेतना कार्यक्रमले विद्यार्थी तथा किशोर किशोरीका लागि निकै लाभदायी भएको सहभागीहरुले बताएका छन् । विद्यार्थीहरुले उत्सुकता पूर्वक चासो लिएको र विद्यालयहरुबाट यस्तो उत्साहजनक प्रतिक्रिया आएकाले आफुहरु पनि निकै खुशी भएको बिराटनगर प्लेटिनम राउन्ड टेबल ११ का अध्यक्ष डा. बिमल अग्रवालले बताए ।
‘प्राथमिक उपचार पद्धति सिक्न सबै जुटौ, कोही नछुटौ’ भन्ने नाराका साथ ६ दिने प्राथमिक उपचार तालिम अभियान बुधबारदेखि सुरु भएको प्राध्यापक श्याम न्यौपानेले बताए ।
धरानस्थित बीपीकेआईएसएचमा एमबीबीएस तेस्रो बर्षमा अध्ययनरत रोटर्याक्टर शुभम कुमार अग्रवालले प्राथमिक उपचार तालिम दिएका थिए । उनका अनुसार प्राथमिक उपचारबारे तालिमले दुर्घटनामा मृत्युु हुनेको संख्या न्युनिकरणमा निकै ठुलो सहयोग गर्नेछ ।
सो कार्यक्रममा यस बाहेक जिल्लाभर सचेतना कार्यक्रम , प्रभातफेरि लगायतका कार्यक्रमहरु आयोजना गरिएको जानकारी डा. अस्मिता राणा र इप्का लेब्सका बिजनेस अफिसर रोशन साहले दिए । आज अन्तिम दिनको कार्यक्रममा स्थानीय बजरङ्ग अग्रवालले प्रशिक्षक शुभम कुमार अग्रवाललाई दोसल्ला ओढाएर सम्मान गर्दै रङ्गेलीबासीकोतर्फबाट धन्यवाद दिएका थिए ।
सम्पर्क इमेल : [email protected]