मुटुरोगको नि:शुल्क उपचार कार्यक्रम मानव अंग प्रत्यारोपण केन्द्रमा पनि शुरु
भक्तपुर २९ मंसिर । मिर्गौला सम्वन्धी उपचारमा चर्चा कमाएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुटुरोगको निशुल्क उपचार सेवा समेत शुरु गरेको छ । गत ५ मंसिरको सचिवस्तरीय निर्णय भन्दै स्वास्थ्य मन्त्रालयले २० मंसिरमा अनुमति पत्र दिएपछि केन्द्रले मुटुरोगको निशुल्क कार्यक्रम शुरु गरेको हो ।
निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मन्त्रालयको अनुमति पाएसंगै केन्द्रमा १५ बर्ष मुनिका बालबालिकाहरुको निशुल्क मुटुरोगको उपचार, जेष्ठ नागरिकहरुको मुटुरोगको निशुल्क उपचार र बाथमुटुुरोगबाट भल्व विग्रिएकाहरुको निशुल्क उपचार सेवा हुने बताए ।
‘सरकारी कार्यक्रमहरु अरु मुटु अस्पतालमा जे जसरी उपलव्ध छ । त्यसैगरी यहाँ पनि उपलव्ध हुने हो । मुटुरोगको उपचार सम्वन्धमा सरकारले जनतालाई दिएको सबै सुविधा अव मानव अंग प्रत्यारोपण केन्द्रबाट समेत उपलव्ध हुने भयो,’ निर्देशक डा. श्रेष्ठले भने ।
मुटुरोगको उपचारका लागि डा मोहनदेव भण्डारीको नेतृत्वमा चिकित्सकहरुको टोली खटिएको उनले बताए । उनले मुटु उपचारका लागि चाहिने केही मेसिनहरु इन्स्टलेशन प्रक्रियाको अन्तिम चरणमा पुगेको भन्दै त्यसपछि फुलफेजमा सेवा सुचारु हुने समेत जानकारी दिए ।उपचार, मिर्गौला डायलासिस, प्रत्यारोपण, कलेजो उपचार तथा प्रत्यारोपणमा चर्चा बटुलेको अस्पतालले मुटुको उपचार शुरु गरेसंगै भिड बढ्ने निश्चित छ ।
निर्देशक डा श्रेष्ठले भने आफूहरुको लागि अहिलेको टाँउको दुखाईको विषय भएको बताए । ‘हामी अरु सबैकुरामा सम्पन्न छौँ तर स्थान अभाव छ, बेड अभाव छ । यसको व्यवस्थापन गर्न निक्कै मुस्किल परेको छ । मुटुरोगको उपचार सेवा थपेपछि यसलाई व्यवस्थापन गर्न थप चुनौति खडा भएको छ,’ उनले भने ।
मुटुरोगको निशुल्क कार्यक्रम यसअघि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथारासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगायतका सरकारी अस्पतालमा मात्रै उपलव्ध हुँदै आएको थियो ।
सम्पर्क इमेल : [email protected]