२५ प्रतिशत डाक्टरबाटै ५० श्ययाको अस्पताल चलाउँदै छन् डा. प्रभु
इलाम, १७ मंसिर । नौ जना विशेषज्ञ सहित १६ डाक्टरको दरबन्दी रहेको इलाम जिल्ला अस्पतालमा एक जना विशेषज्ञ सहित ४ जना डाक्टरले काम चलाएका छन् । दरबन्दी अनुसारको जनशक्ति नहुँदा सेवाग्राही भने मारमा परेका छन् ।
५० श्ययाको जिल्ला अस्पतालमा दुई जना स्थायी र दुई जना करारका मेडिकल अफिसर कार्यरत छन् । त्यसको नेतृत्व एकमात्र विशेषज्ञ डाक्टर प्रभु साहले गरिरहेका छन् । तर सरकारले अस्पतालको प्रशासनिक प्रमुख पनि मेडिकल सुपरिटेण्डेण्टलाई तोकेपछि एकमात्र उपलब्ध विशेषज्ञ डाक्टर साहमाथि प्रशासनिक बोझ समेत थपिएको छ ।
दैनिक २० देखि ३० जना ओपिडीका बिरामी जाँच्ने, १० देखि १५ जनाको भिडियो एक्सरे गर्ने, एकदेखि तीन वटासम्म सुरक्षित गर्भपतन गर्ने, एउटा शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीको दिनमा अनिवार्य दुई पटक चेकजाँच र उपचार गर्नेदेखि लिएर प्रहरी रिपोर्ट गरिएका केस ह्याण्डल गर्ने सम्मका काम डाक्टर साहका दैनिक काम हुन् ।
आवश्यकताअनुसार इमरजेन्सीको बिरामी हेर्ने, शवपरीक्षण गर्ने, एचआइभीका बिरामी, क्षयरोगका बिरामी जाँच गर्ने काम पनि बेलामौका गरिरहेको गरिरहेको उनले बताए ।
विशिष्ट प्रकृतिका रोगको लागि निःशुल्क सिफारिस गर्ने काम पनि महिनामा एक दुई वटा गर्न उनलाई नै भ्याउनुपर्ने बाध्यता छ । डा साह भन्छन्, ‘यो भन्दा प्रेसर एकजना डाक्टरलाई कति हुन्छ’, ‘सरकारले दरबन्दी बमोजिम डाक्टर पठाए सहज रुपमा अस्पताल सञ्चालन गर्न सकिने थियो ।’
सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि हाल ३७ श्यया मात्र सञ्चालनमा ल्याउन सकेको उनले बताए । १६ जना डाक्टरको दरबन्दी भएको इलाम अस्पतालमा नर्सको भने १५ जनाको मात्र दरबन्दी छ ।
‘सुन्दा अचम्म लाग्नसक्छ तर सत्य नै यही हो’, डा साहले भने । तर त्यसमा पनि अस्पतालमा कार्यरत भने अहिले आठ जना मात्रै छन् ।
अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरको योगदानको मूल्यांकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताए । उनले भने दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने बाचा गर्दै भोट व्याङकको रुपमा इलाम अस्पताललाई नेताले प्रयोग गर्न थालेको पनि धेरै वर्षभयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सीमित हुँदै आएको छ । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।
अस्पताल बाहिर फार्मेसी सञ्चालन गर्दै आएका विनोद थापा भन्छन्, “धन्न प्रभु सरले थाम्नुभएको छ, अरु कोही भएको भए यतिका समय इलाम रुँगेर बस्दैन थिए होला ।”
५० श्ययाको यस अस्पतालमा पूरा डाक्टरको दरबन्दी हुने र सबै श्यया सञ्चालन गर्न सके यहाँका बिरामी बाहिर उपचारमा जानुपर्ने बाध्यता हट्ने थियो । जिल्लावासीले तत्काल यो समस्या समाधान गर्न सरकारसमक्ष माग समेत गरेका छन् । रासस
सम्पर्क इमेल : [email protected]